विराटनगर । नेपाल र भारतको सीमाक्षेत्र दशगजामा भारतले नेपालको सुरक्षा अवस्था निगरानी राख्न सिसिटिभी राख्ने गरेको पाइएको छ ।
विराटनगर भन्सार कार्यालय रानीको १ नं. गेटछेउमा भारतीय पक्षले नेपाल तिर फर्काएर राखेको दुईवटा सिसिटिभीले नेपालको सुरक्षा अवस्थाको बारेमा निगरानी गर्ने गरेको पाइएको हो ।
कोभिड १९ रोकथाम र नियन्त्रणको लागि सरकारले २०६७ चैत १२ गतेदेखि लकडाउन गरेको थियो । सोही दिनदेखि सीमा नाका सिल गरियो । भदौदेखि सीमावर्ती क्षेत्रदेखि मानिसको आवत–जावत हुन थालेपछि गत भदौ २ गतेदेखि भारतीय पक्षले दशगजा क्षेत्रमा सिसिटिभी राखेको हो । भारतले राखेको सिसिटिभीले विराटनगर रानी भन्सार कार्यालय बाहिरको सम्पूर्ण दृश्य कैद गर्दछ ।
उक्त सिसिटिभीले प्रहरी चौकी रानीअगाडि र भन्सार सुरक्षामा खटिएको प्रहरीको सम्पूर्ण गतिविधि निगरानी गर्ने गरेको छ । दुई देशको सीमा क्षेत्रको दशगजामा केही गर्न नपाउने प्रावधान रहेको छ । तर, भारतीय पक्षले दादागिरी शैलीमा दशगजा क्षेत्रमा सिसिटिभी राखेर नेपालतर्फको निगरानी र सुरक्षा अवस्थाको बारेमा बुझ्ने गरेको सुरक्षा स्रोतले बताएको छ ।
‘दशगजा क्षेत्रमा नेपालतिर फर्काएर दुई वटा सिसिटिभी तेस्र्याएर राखेको छ’ सीमाक्षेत्रमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘यसरी नेपालतिर फर्काएर सिसिटिभी नराख्न हामीले गरेको बारम्बारको आग्रह पनि भारतीय एसएसपीले बेवास्ता ग¥यो । हामीले धेरै पटक हटाउन भन्यौं । तर, हाम्रो कुराको सुनुवाइ भएन । अहिलेसम्म हटाएको छैन । सिसिटिभी राखेर पूरा नेपालतिरको निगरानी र सुरक्षा अवस्था बारेमा जानकारी लिने गरेको छ ।’
यसरी दशगजा क्षेत्रमा राखिएको सिसिटिभीको मनिटर जोगवनीमा रहेको बुझिएको छ । त्यस क्षेत्रदेखि विराटनगर रानी भन्सार कार्यालयको १ नं. ढाटबाट आवत–जावत र विराटनगर भन्सारको सम्पूर्ण गतिविधि नियाल्ने गरेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दशगजा क्षेत्रमा भारतीय पक्षले नेपालतर्फ फर्काएर सिसिटिभी राख्न नपाउने बताए । ‘यसरी दशगजा क्षेत्रमा नेपालतिर फर्काएर सिसिटिभी राखेको पाइए हटाउन भारतीय प्रशासनसँग पहलकदमी अगाडि बढाउँछौं’ उनले भने, ‘चाँडै जिल्ला सुरक्षा समितिको बैठक पनि बस्दैछ । यस विषयमा छलफल पनि गर्नेछु ।’
दशगजा क्षेत्रमा नेपालतिर फर्काएर राखिएका सिसिटिभी हटाउन पहल गर्ने उनले बताए । सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह बाहिनी मुख्यालय सुनसरीका निमित्त कार्यालय प्रमुख एसएसपी प्रकाश थापाले दशगजा क्षेत्रमा दुवै देशले केही गर्न नपाइने बताए । ‘दशगजा क्षेत्र भनेको दुवैतिरको समान अधिकार हुने क्षेत्र हो । यस क्षेत्रमा दुवै देशले केही गर्न पाइँदैन’ उनले भने, ‘दशगजा क्षेत्रमा कसैले पनि बेस बनाएर राख्न पाइँदैन । यदि सिसिटिभी नेपालतिर फर्काएर राखिएको भए हटाउन पहल गरिनेछ ।’
सिसिटिभी राखिएको सीमाक्षेत्र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बिओपी) रानी विराटनगर क्षेत्रमा पर्दछ । सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलले अहिलेसम्म दशगजा क्षेत्रमा नेपालतिर फर्काएर सिसिटिभी राखिएको विषयमा कुनै जानकारी नआएको बताए ।
‘अहिलेसम्म दशगजा क्षेत्रमा सिसिटिभी राखिएको जानकारी आएको छैन’ उनले भने, ‘कसरी राखेको छ । त्यस्तो छ भने आधिकारिक रूपमा जिल्ला सुरक्षा समितिमा रहेका हामीले संयुक्तरूपमा अनुगमन गर्नेछौं । त्यसपछि थप प्रक्रिया अगाडि बढाउँछौं ।’