धरान । धरानका निजी विद्यालय तथा कलेजहरुले धरान उपमहानगरपालिकाको निर्देशन उल्लंघन गर्दै भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिरहेको पाईएको छ ।

उपमहानगरपालिकाले मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरुमा अनुगमन गर्दा निर्देशन उल्लंघन गरेको पाइएको हो । उपमहानगरको टोलिले धरानका विष्णु मेमोरियल, समिट सेकेन्डरी स्कुल, धरान आदर्श र युरेका स्कुलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा विष्णु मेमोरियलमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन भईरहेको पाइएको थियो । विहानको सिफ्टमा कक्षा ११ र १२ को भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरिएको विष्णु मेमोरियलले स्वीकार गरेको उपमहानगरले जनाएको छ । विष्णु मेमोरियलले भालिबाट पठनपाठन रोक्ने प्रतिवद्धता गरेको छ ।

यस्तै, समिट  सेकेण्डरी स्कुलले पनि नर्सरी र केजीका विद्यार्थीलाई दिउँसोको सिफ्टमा भौतिक उपस्थिति मै पठनपाठन सञ्चालन गरिरहेको भेटिएको थियो । समिटमा नर्सरी र केजीका विद्यार्थी बाहेक अन्य कक्षाका विद्यार्थीलाई भने अनलाईन माध्यमबाट पठनपाठन गराईरहेको पाईएको उपमहानगरले जनाएको छ । त्यसैगरी अनुगमनका क्रममा धरान आदर्शमा कक्षा ११ र १२ को परिक्षा सञ्चालन भईरहेको भेटिएको थियो । यूरेका स्कुलमा भने पठनपाठन भएको थिएन । उपमहानगर टोलिले अनुगमनपछि अहिले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । भने नियमित अनुगमन गरेर निर्देशन उल्लंघन गर्नेलाई कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ ।

धरान उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखा अधिकृत मनोज भट्टराई, नगर प्रमुखका स्वकिय सचिव राजेशमान श्रेष्ठ, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, नगर प्रहरी निरीक्षक विष्णु कोइरालासहितको टोलीले निजी विद्यालय तथा कलेज अनुगमन थिए । भदौं ३१ गते बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना महामारी अझै नियन्त्रण हुन नसकेको  भन्दै दशै, तिहारपछि मात्र विद्यालय तथा कलेजहरु खुलाउने निर्णय गरेको थियो । 

उपमहानगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद महाशाखाले धरानमा विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेको पाईएमा प्रचलित कानुन अनुसार कारबाही गरिने जनाउँदै विज्ञप्ति समेत जारी गरेको छ । धरानका कतिपय विद्यालयहरुले भौतिक रुपमा नै विद्यालय सञ्चालन गरिरहेका, अभिभावक तथा विद्यार्थीहरुलाई सूचना गरि विद्यालयमा बोलाउने गरेको गुनासाहरु नगरपालिकामा आएका कारण तत्काल भौतिक रुपमा पठनपाठन बन्द गरि बैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाई सहजीकरणलाई निरन्तर अगाडी बढाउन विज्ञप्तिमार्फत निर्देशन दिईएको छ ।