सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट सरूवा भएका प्रमुख प्रशासकीय अधिकृतको सरूवा बदर गराउन पुनः चलखेल सुरू भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको सरूवा बदर गराउन चलखेल सुरू भएको हो । पूर्वाधार निर्माणमा व्यापक अनियमितता गरेको स्थानीयबाट आरोप लागेका मेहताको सरूवा भए पनि रवाना बुझेका छैनन् । सरूवा भएर जानुपर्ने प्रमुख प्रशासकीय अधिकृत मेहताले स्थानीय जनप्रतिनिधिदेखि सङ्घीय सांसदमार्फत मन्त्रालयका सचिवलाई भनसुन गराएर सरूवा रोक्न लागिपरेको स्थानीय बताउँछन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनको २०७८ भदौ २३ गतेको निर्णयअनुसार मेहता मोरङ जिल्लाको धनपालथान गाउँपालिकामा सरूवा भएकामा उनले सरूवा बदर गराउन नेपाली काङ्गे्रसका केही नेतालाई आर्थिक प्रलोभनमा पारेको नाम उल्लेख नगर्ने सर्त एक स्थानीयले बताए ।

ती व्यक्तिका अनुसार आर्थिक प्रलोभनमा पारिएका नेतामार्फत सरूवा रोक्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मन्त्रालयका सचिवस्तरमा समेत पहल भइरहेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर १२५ मिति २०७८ भदौ २३ गतेको निर्णयअनुसार मेहताको स्थानमा मनोजकुमार साह कर्मचारी सङ्केत नम्बर २१३१५१ सरूवा भई गाउँपालिकामा हाजिर भए पनि मन्त्रालयकै मौखिक आदेशमा तत्काल उनले हाजिरी नगरेको बताइएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाबाट विगतमा समेत सरूवा भई आर्थिक चलखेल गरेर राजनीतिक पहुँचबाट सरूवा रोक्न सफल भएका मेहता पुनः सोही चलखेलमा लागेका छन् । यसअगि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७७ चैत १८ गतेको पत्रअनुसार भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेहताको सरूवा भए पनि उनले त्यतिबेला सरूवा रोकाउन सफल भएका थिए ।

६ महिना पहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह कर्मचारी प्रशासन शाखा कर्मचारी समायोजन ऐन २०७५ को दफा ९ को उपदफा (९) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मेहतालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा सोहीअन्तर्गत प्रदेश नम्बर १ मा कामकाजका लागि खटाएको थियो तर उनले आर्थिक चलखेल गरेर राजनीति पहुँचका आधारमा सरूवा बदर गराएर भोक्राहा नरसिंह गाउँपालिकामै बस्दै आएका छन् ।

भोक्राहा नरसिंह गाउँपालिकामा निर्वाचित अध्यक्षको अनुपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा मेहता हुँदा वर्तमान जनप्रतिनिधिलाई अनियमितता गर्न सहज हुने भएकाले उनको सरूवा रोक्न जनप्रतिनिधिले चलखेल गरिरहेको भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका हबिब मियाँले दाबी गरे ।

रामचरित्र मेहता प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएपछि भोक्राहा नरसिंह गाउँपालिकामा भ्रष्टाचार बढेको आरोप लगाउँदै उनले तारतम्य (सेटिङ) गर्न सजिलो हुने भएकाले सरूवा भइसकेका व्यक्तिलाई समेत रोक्न राजनीतिक दबाव बनाउनुका साथै आर्थिक चलखेल भइरहेको गुनासो गरे ।

यता अधिकृत रामचरित्र मेहताले आफूले सरूवा रोक्नका लागि कुनै पनि शक्तिको प्रयोग नगरेको दाबी गरे । उनले आफूले त विगतदेखि नै सरूवा मागिरहेको दाबी गरे । ‘गाउँपालिकाले आफ्नो तरिकाले ग¥यो होला, कामहरू भइरहेको छ, बिग्रिन्छ भन्ने होला’ उनले फोनसम्पर्कमा भने, ‘मैले त्यस्तो केही गरेको छैन । उल्टो मैले नै सरूवा मागेको थिए, पहिला पनि मन्त्रालयमा बसेको मान्छे हुँ बस्न मलाई केही गाह्रो छैन । सरूवा रोक्ने कुरा मेरो लेभलबाट हुने कुरा पनि होइन ।’