इटहरी । नेपाल विद्युत् प्राधिकरण सुनसरीको इटहरी शाखाले मागअनुसार विद्युत् मिटर वितरण गर्न नसक्दा उपभोक्ताहरू समस्यामा परेका छन् ।
नयाँ बनेका अधिकांश घरधनीहरूले मिटर जडान गर्न पाएका छैनन् । मिटर जडान गर्नका लागि प्राधिकरण पुग्नेहरू रित्तो हात फर्कने गरेका छन् । इटहरी–१९ जब्दी चोक नजिकै घर बनाउँदै आएका भीमबहादुर बनले महिना दिनअगाडि नयाँ मिटर माग गरे पनि नपाएको गुनासो गरेका छन् । ‘पैसा जम्मा गरेर नयाँ मिटर मगाए पनि अहिलेसम्म पाएको छैन’ उनी भन्छन्, ‘विद्युत् प्राधिकरणमा पैसा जम्मा गराउनुहोस् हामी फोन गछौ भनेका थिए अहिलेसम्म मिटर पाएको छैन ।’
यसअगि प्रत्येक ग्राहकले नयाँ लाइन जडान गर्दा आफैंले विद्युत् मिटर उपलब्ध गराउँदै आएको प्राधिकरणले पछिल्लो समयमा अभाव भएको भन्दै मिटर उपलब्ध गराउन सकेको छैन । तरहराकै रमेश पुरीले पनि एक महिनाअगाडि मिटर जडानका लागि निवेदन दिए पनि मिटर पाएका छैनन् । ‘खै ! कुलमान घिसिङ प्राधिकरणमा आएपछि के के न हुन्छ भन्थे केचाहिँ भयो त ?’ उनको प्रश्न थियो ।
सरकारले डिजिटल मिटर जडान गर्ने भनिए पनि अहिले नयाँ डिजिटल मिटर भने अधिकांशले पाउन सकेका छैनन् । रमेशका अनुसार नयाँ मिटर जडानका लागि आफूले बारम्बार दुःख पाएँ ।
‘पुरानो मिटर हो भने केही दिन पर्खनुहोस् नयाँ मिटर कहिलेदेखि आउँछ भन्ने हामी भन्न सक्दैनौ मात्र भन्छन्,’ रमेशले थपे । विद्युत् प्राधिकरण इटहरीका अनुसार मागअनुसारको मिटर उपलब्ध हुन नसक्दा अभाव भएको हो ।
घरायसी प्रयोजनका लागि मिटर उपलब्ध गराउन विद्युत् प्राधिकरण इटहरी शाखामा निवेदन दिएको महिनौसम्म पनि मिटर पाउन नसकेको इटहरी–२ की ललिता लिम्बूले गुनासो गरिन् । उनले भनिन्, ‘मिटर उपलब्ध नहुँदा अँध्यारोमा बस्नुपर्ने बाध्यता छ । विनामिटर बिजुली बाल्दा चोरीको आरोप लाग्ने भयो ।’
प्राधिकरण इटहरी शाखाका प्रमुख सुरेन्द्रकुमार साहले मिटर अभावको कारण केही समस्या भएको बताए । नयाँ डिजिटल मिटर अभाव छ । ग्राहकको माग धेरै भयो कोरोनाको बेला ठेक्का हुन पाएन ।
ग्राहकहरूको सङ्ख्या बढेपछि दिन नसकेको उनको भनाइ छ । ‘ग्राहकहरूको माग ह्वात्तै बढेका कारण केही समय लाग्न सक्छ,’ उनी भन्छन् । इटहरीमा विद्युत् प्राधिकरणको ६५ हजारभन्दा बढी ग्राहक छन् । महिना अढाइ सयभन्दा बढी मिटर माग हुने गरेको प्राधिकरण इटहरीले जनाएको छ । मागअनुसारको मिटर केन्द्रबाटै नआएकाले मिटरका लागि कुर्नु परेको प्रमुख साह बताउँछन् ।
‘अहिले हामीले अतिआवश्यक भएकाहरूलाई पुरानै मिटर भए पनि दिँदैछौ,’ उनले भने, ‘नयाँ मिटरको केन्द्रबाटै ठेक्का प्रक्रियामा गएको छ कहिले आउँछ हामीलाई नै थाहा छैन ।’ इटहरीमा ९ सय थ्रीफेज मिटरको ग्राहकलाई स्मार्ट बनाइसकेको प्राधिकरणले जनाएको छ । स्मार्ट मिटर प्रयोग गरिएमा विद्युत् चुहावट घट्ने र र बक्यौता पनि नरहने प्राधिकरणले बताउँदै आएको छ ।