धरान : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको बीभत्स हत्या प्रकरणको अनुसन्धानका लागि आएको छ ।
घटनाको अनुसन्धानका लागि सिआइबीको (पिलर) वान का डिएसपी रुकम बहादुर कुँवरको कमान्डमा ५ जनाको टोली घटनास्थलतर्फ हिँडेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले बताए ।
सिआइबीबाट आएका डिएसपी कुँवर अपराध अनुसन्धानमा नेपालकै उत्कृष्ट प्रहरी अधिकृत मध्ये एक हुन । कुँवर भक्तपुरका बालक निशान खड्काको अपहरण र हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङको २०७५ सालको साउन २० गते इन्काउन्टर गर्ने प्रहरी कमान्डर थिए ।
यसरी हुदैछ अनुसन्धान
पहिलो चरणमासबुत प्रमाण सङ्कलनको लागिसंघिय ईकाइ प्रहरी कार्यालय धरानको ‘ट्रयाकर’ डग पिकु र लैलालाई अपराध स्थलमा परिचालन गरी ‘डग स्निफिङ’ गरिएको थियो । तर राती पानी परेर घटनास्थलमा हुन सक्ने सबुत प्रमाण नष्ट हुनसक्ने जोखिम देखिएको छ । घटनास्थलमा अपराधीहरूले छाडेको कुनै सबुत प्रमाण यदि पानीले भिजेको खण्डमा ‘ट्रयाकर’ डगले त्यसलाई ‘स्निफिङ’ गर्न सक्दैन ।
पानी परे पनि घटनास्थलमा पुगेको प्रहरीको पहिलो टोलीले घटनास्थल सुरक्षित बनाएर राखेको कारण सबुत प्रमाण भेटिने भने सम्भावना हुन्छ । अब प्रहरीको घटनास्थल अनुसन्धान टिमको क्राइम सिन अफिसर (सोको) को टिमले घटनास्थलको सर्च गर्ने छ र सबुत प्रमाण सङ्कलन गर्ने छ ।
सोको टिमको लागि सबैभन्दा महत्त्वपूर्ण काम घटनामा प्रयोग भएको हतियार खोज्नु मानिन्छ । त्यसको लागि धरानबाट गएको फरेन्सिक टिम र जिल्ला प्रहरी कार्यालयको सोको टिम संयुक्त रूपमा बिहानै देखि खटिएको छ ।
सबुत प्रमाण सङ्कलन पछि अनुसन्धान टोलीले घटनास्थल र शवको लास जाँच प्रकृति मुचुल्का विवरण उठाउने छ । यो घटनामा भने घटनास्थलमा भेटिएको शवको प्रकृति हेर्दा हत्याराले मृतकहरूलाई लखेटी लखेटी हत्या गरेको अनुमान गरिएको छ । घरभित्र ८४ वर्षीय पार्वती कार्की मृत अवस्थामा भेटिएकी थिइन् । छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीय कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीय रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीय गोमाको शव तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो । प्रहरीका अनुसार नाति नतिनाको शव घरदेखि माथिको खर बारीमा छ । तेजबहादुरको शव सडकमा छ । रञ्जना र कमलाको शव घर नजिकैको खोल्सोमा छ ।
साथै मृतकहरूको चप्पल, चुरा लगायतका सामानहरू यत्रतत्र छरिनुले लखेटेर हत्या भएको प्रहरीको अनुमान छ । पाँच जनाको भाग्दा भाग्दै र एक जना वृद्ध महिलाको सुतेकै अवस्थामा हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष पनि छ ।
यो हत्या प्रकरणमा सबै जनामाथि धारिलो हतियार प्रहार भएको देखिन्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले यो घटनामा एक जना भन्दा बढीको संलग्नता र उनीहरूले खुकुरी र बन्चरो जस्ता घरेलु हतियार प्रयोग गरेको हुन सक्ने मृतकहरूको शरीरको चोटबाट देखिएको छ ।
धारिलो हतियारले प्राय टाउको, घाटी र कोखामा प्रहार भएको देखिन्छ ।
लास जाँच प्रकृति मुचुल्का उठाएपछि शवको पोस्टमार्टमको लागि अस्पताल पठाउने तयारी गरिन्छ । यो घटनामा मृतक सबैको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी गरिएको छ । जिल्ला अस्पताल भन्दा बिपीमा छिटो पोस्टमार्टम हुने भएकाले सबै शवलाई धरान ल्याइने अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक भीम दाहाल बताउँछन् । पोस्टमार्टम रिर्पाेट जति चाँडो आउन सक्यो त्यति नै अनुसन्धान फराकिलो हुने दाहालको धारणा छ ।
पोस्टमार्टम रिर्पाेट क्लियर नभएको खण्डमा भिसेरा जाँचको लागि शवको केही नमुना प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाउनु पर्ने हुन्छ ।