तालिबान विरोधी नेता अहमद मसौदले मौलवीहरूले अघि सारेको वार्ताबाटै समाधान गर्ने योजनालाई आफूले समर्थन गरेको प्रतिक्रिया दिएका छन् ।

तालिबानविरुद्ध पन्जशीर उपत्यकामा युद्ध लडिरहेको तालिबान प्रतिरोधी मोर्चाका नेता मसौदले तालिबानलाई आक्रमण रोक्न आह्वान गरेका छन् । उनले शान्ति वार्तामा प्रवेश गर्न खुला रहेको बताएका छन् ।

एउटा फेसबुक पोस्टमा मसौदले तालिबानले आक्रमण रोके पूर्व अफगान सुरक्षा बलका सदस्यहरू र स्थानीय मिलिसियाहरू रहेको नेशनल रेसिस्टेन्ट फ्रन्ट (एनआरएफ) वार्ताको लागि तयार रहेको बताएका छन् ।

काबुलदेखि उत्तरमा रहेको पन्जशीर उपत्यका तालिबान शासन प्रतिरोधको सशक्त क्षेत्रका रुपमा चिनिएको छ ।

पश्चिमा समर्थित सरकार पतन भएसङ्गै अगस्ट १५ मा तालिबानले तीन हप्ता अघि नै अफगानिस्तानको बाँकी भूभाग नियन्त्रणमा लिइसकेको थियो ।

वार्ताबारे तालिबानबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

पहाडले घेरिएको पन्जशीर १९८० को दशकमा तत्कालीन सोभियत र १९९६ देखि २००१ सम्ममा तालिबान शासनको प्रतिरोधको केन्द्र थियो, जहाँ हाल १ लाख ५० हजारदेखि २ लाख मानिस बसोबास गर्छन् ।

यसअघि तालिबानले आफ्नो फौज पन्जशीरको प्रान्तीय राजधानी बजारकमा पुगेको बताएको थियो तर एनआरफले यसको खण्डन गरेको थियो ।

युद्धमा दुवै पक्षले कमान्डरसहित लडाकुहरू गुमाएको बताइएको छ ।