बिर्तामोड / झापाको कनकाईमा ६ महिनाअघि भएको सवारी दुर्घटनाका पीडितले ठक्कर दिने ट्रकधनीले उपचारमा बेवास्ता गरेको बताएका छन् । अंगभंग भई उपचार भइरहेका उनीहरुले ट्रकधनीको बेवास्ताका कारण झन पीडा थपिएको बताए । 

फागुन १९ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाईमा को.१ ख १६८४ नम्बरको ट्रकले प्रदेश १–०१–००१ च ०१६७ नम्बरको कार र प्रदेश १–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कारमा सवार रहेका सोलुखुम्बु जिल्लाको पासाङल्वामु गाउँपालिका बस्ने ३३ बर्षका दिलीप रानामगर र सोही कारका चालक धरान उपमहानगरपालिका–१६ का दीपक क्षेत्रीको घटनास्थलमै मृत्यु भएको थियो । तिब्र गतिमा आउँदै गरेको कार बिपरीत दिशाबाट जाँदै गरेको ट्रकसँग ठोक्किएको थियो ।

शिवसताक्षी नगरपालिका वार्ड नं २ का ३९ वर्षीय यामबहादुर श्रेष्ठ र उनकी श्रीमती सनम श्रेष्ठ घाइते भएका थिए । घाइतेलाई तत्काल उद्दार गरी बिएडसी अस्पतालमा उपचार शुरु गरिएको थियो । ट्रकधनीले उपचार खर्च नदिएपछि उनीहरु अस्पतालबाट घर जान नसकेको बताउँछन् । उपचारमा संलग्न चिकित्सकका अनुसार उनीहरूलाई धेरै अघि डिस्चार्ज दिइएको हो ।

तर अस्पतालमा तिर्नुपर्ने निकै ठूलो रकम कस्ले तिरिदिने भन्ने चिन्ताले पीडित परिवार चिन्तित छ। परिवारकै सल्लाहमा ती दम्पती अहिले पनि अस्पतालमै छन् ।

जिल्ला प्रशासन कार्यालय झापामा सोही घटनाको मुद्दा चलिरहेको छ । धेरै पटक म्याद तामेली पनि भयो । तर आजका मितिसम्म ठक्कर दिने सवारी साधनका धनी सम्पर्कमा आएका छैनन् । जस्का कारण पीडितले आँखाबाट आँसु खसाल्नबाहेक केही गर्न सकेका छैनन् । घाइतेमध्ये यामबहादुरको दाहिने खुट्टा काट्नु परेको छ भने सनमको पनि एउटा खुट्टा चल्दैन । 

घाइते यामबहादुरका भाइ खेमबहादुरले भने, ‘घर जाँदा हाम्रो मुद्दा कमजोर हुन्छ । हामीलाई ठक्कर दिने ट्रक धनीले दिनुपर्ने रकम दिनसक्ने वातावरण नबन्ने भएकाले अस्पताल प्रशासन र हामी परिवारबीच नै सल्लाह भएपछि बिरामी यहीँ बस्नु परेको हो ।’

ठक्कर दिने ट्रक बिराटनगरमा रहेको रिजाल ग्यास उद्योगको रहेको र उक्त उद्योगका सञ्चालक नवीन रिजाल रहेको प्रहरीले जनाएको छ । यामबहादुरले भने, ‘ट्रकको धनी आएर हामीलाई छुटाइदिए हामी घर गएर साधारण जीवन जिउनका लागि सहयोग पुग्ने थियो । कृत्रिम खुट्टा लगाएर भए पनि हिँड्न पाउने अवस्था हुने थियो ।’ सर सापट गरेर १२ लाख रुपैंयाँ बुझाएका उनीहरुको अझै ३० लाख रुपैयाँ भन्दा बढी बुझाउन बाँकी छ । 

घाइते दम्पतीको उपचारका लागि ट्रक धनी नवीन रिजालले खर्च व्यवस्था नगरिदिएपछि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमार्फत जिल्ला प्रशासन कार्यालय झापामा मुद्दा दायर भयो ।

तर लकडाउनका कारणले मुद्दाको मिसिल समयमा तयार हुन नसकेको प्रशासनश्रोतले जनाएको छ । मिसिल तयार भएपछि रिजालका लागि म्याद तामेली एको थियो । त्यसपछि पनि रिजाल सम्पर्कमा नआएको पीडितले बताएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आगामी सोमबार त्यो मुद्दाको फैसला गर्ने बताउँदै समस्याका निकास चाँडै आउने जानकारी दिए ।