अमेरिकाको लुइजियानामा सोमबार शक्तिशालीमध्येको एक समुद्री आँधी आएको बताइएको छ । सो आँधीमा परी अहिलेसम्म एकजनाको ज्यान गएको छ ।

सो आँधीले गर्दा उक्त क्षेत्रको तटीय क्षेत्र डुबाएको बताइएको छ । त्यसैगरी यहाँका भौतिक तथा अन्य आधारभूत संरचना नै केही डुबाएको र केहीमा नराम्ररी क्षति पुर्याएको बताइएको छ ।

यो आँधीको चपेटामा परेर करिब सात लाख मानिस विद्युत सेवाबाट पनि बञ्चित हुन पुगेका बताइएको छ । अमेरिकाका मौसमविद्ले यसलाई यहाँको अहिलेसम्मका शक्तिशालीमध्येकै एक आँधी भनेका छन् ।

यो आँधी निरन्तररूपमा नै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा रहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने मौसमविद्ले जनाएका छन् । यहाँको तटीय क्षेत्रबाट दशौँ हजार व्यक्तिको उद्धार गरिएको अधिकारीले जनाएका छन् । साथै उद्धार गर्न नसकेर सोही क्षेत्रमा सुरक्षित साथ बसेका भनिएका नागरिकलाई भने अरु केही दिन त्यहीँ बस्न भनिएको र अहिले नै मद्दत गर्न नसकिने अवस्था रहेको बताइएको छ ।

यो आँधीले न्यूअर्लियन्स नजिकैको एउटा अस्पतालको छाना नै उडाइदिएको बताइएको छ । तर त्यसमा परेर कोही पनि बिरामी घाइते भने नभएका बताइएको छ । यहाँका हजारौँ मानिस सुरक्षित स्थानतर्फ भागेका छन् । यहाँ बाँकी रहेका अन्य व्यक्तिलाई आँधी नरोकिएसम्म भित्रै बस्न भनिएको छ ।