धनकुटा । नेपाल टेलिकमले फाइबर लाइन विस्तार गर्ने क्रममा तोडिएको पिच सडक विभागले समयमा मर्मत नगर्दा धरान–धनकुटा–हिले सडक–खण्डमा यात्रा गर्न जोखिम बढेको छ ।
दर्जनौं स्थानमा सडक खाल्डा परेका कारण साना सवारी साधन, २ पाङग्रे सवारी साधन र बिरामी बोक्ने एम्बुलेन्सहरू दुर्घटनामा पर्न थालेका छन् । टेलिकमले धरानदेखि धनकुटाको हिलेसम्म करिब ६७ किलोमिटर सडकमा आ.व.०७७/७८ को असार मसान्तमै फाइबर बिछ्याएर सकेको छ ।
टेलिकमले फाइबर बिछ्याउने क्रममा धरान–धनकुटा सडक–खण्डमा दर्जनौं स्थानमा पिच सडक तोडिएको छ । यसरी तोडिएको पक्की सडक वर्षायामले गर्दा झन् ठूला–ठूला खाल्डो परेकाले सडकमा यात्रा गर्न जोखिम बढेको हो ।
दर्जनौं स्थानमा सडक खाल्डा परेकाले विशेष गरेर कोभिडको महामारीको बेलामा बिरामी ओसार –पसार गर्ने एम्बुलेन्स, साना सवारी साधन र २ पाङ्ग्रे मोटरसाइकललाई यात्रा गर्न जोखिम बढेको हो । एकातिर वर्षाको समय भएकाले पनि सडकमा खाल्डा दिन प्रतिदिन बढ्दै ठूलो भएकै कारण बढी दुर्घटना हुने खतरा बढेको पाइएको छ ।
कोभिडको महामारीको समयमा बिरामी बोकेर हिँड्ने एम्बुलेन्सलाई सबैभन्दा बढी जोखिम बढेको एम्बुलेन्स चालक सविन लिम्बूले ब्लाष्टलाई बताए । बिरामीलाई चाँडोभन्दा चाँडो उपचार सेवा दिन एम्बुलेन्स तीव्र गतिमा कुदाउनु पर्ने अवस्थामा सडक खाल्डो परेका कारण यात्रामा जोखिम बढेको सविन बताउँछन् ।
नेपाल टेलिकमले सडक भत्काउनुभन्दा पहिले नै डीपीआर गरेर कति क्षेत्रफल भत्काउनु पर्ने हो, स्टिमेटमा आए बमोजिमको बजेट पहिले नै सडक विभागको खातामा जम्मा गरिसकेको नेपाल टेलिकम धनकुटा शाखाका प्रमुख ज्ञाननाथ सापकोटाले ब्लाष्टलाई बताए ।
उनले सडक विभागलाई भत्किएको सडक मर्मत गर्नको लागि पैसा जम्मा गरेको १ वर्षभन्दा बढी भइसकेको तर, अहिलेसम्म बाटो नबनेको भन्दै उनले गुनासो गरे । टेलिकमले पैसा जम्मा नगरेसम्म सडक भत्काउन त के छुन पनि नदिएको सापकोटाले सुनाए ।
सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख दानबहादुर शाक्यले भने भत्किएको सडक मर्मत गर्ने दायित्व सडक विभागको भएको बताए । उनले सडक मर्मत गर्न टेण्डर खुलाउन आवश्यक प्रक्रिया अघि बढाउने काम भइरहेको बताएका छन् ।
शाक्यले आफू कार्यालयको कामले काठमाडौं गएको जानकारी दिँदै फाइबर लाइन बिछ्याउँदा भत्किएको सडक चाँडै मर्मत हुने आश्वासन टेलिफोनमार्फत् ब्लाष्टलाई दिए । वर्षायाम भएकाले सडक मर्मत गर्ने कार्य केही ढिला भएको भने उनले स्वीकारेका छन् ।