इटहरी। लगातारको वर्षाका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । पूर्वी नेपालमा लगातार सात दिनदेखिको झरीका कारण सर्वसाधारणको दैनिकी कष्टकर भएको हो ।

वर्षाका कारण दैनिक मजदुरी गर्ने बढी प्रभावित भएका छन् । लगातार परेको पानीले काम गर्न नदिएको कारण समस्यामा परेको इटहरी–८ का सुरेन्द्र चौधरीले बताए । इटहरी चोकमा लामो समयदेखि फलफूल बिक्री गर्दै आएका चौधरी भन्छन्, ‘झरीले बिजोक बनायो ।’

इटहरी चोकमा दैनिक २० हजार रुपैयाँसम्मको फलफूल बिक्री गर्ने उनी झरीले गर्दा ५ हजारको पनि बिक्री नभएको बताउँछन् । इटहरी–१९ मौलियका घर निर्माण ठेकेदार श्याम चौधरीलाई पनि झरीले गर्नुगरेको छ । ‘दैनिक झरी पर्दा काम भएन, ज्यादै समस्या भयो’–उनी भन्छन् ।  एक साता देखि दैनिक परेको सिमसिमे पानीको मारमा आफूहरू परेको उनको भनाइ छ । वर्षाले ज्यादै समस्या हुँदै आएको उनी बताउँछन् ।

लगातारको वर्षाका कारण अधिकांश ज्याला मजदुरी गर्ने पीडित भएका छन् । दैनिक हाजिरामा काम गर्ने अनि बेलुका फर्कदा खानाको जोहो गरेर फर्कनेहरू अहिले समस्यामा परेको बताउँछन् इटहरी–२० का सविन विश्वकर्मा । घर निर्माणमा लेवरको काम गर्दै आएका विश्वकर्मालाई दैनिक परेको झरीले समस्या बनाएको उनको भनाइ छ । ‘ठिक्क काममा जाने बेलामा पानी पर्दा हामीलाई ज्यादै समस्या भयो’–उनले भने ।

लगातारको वर्षाका कारण निर्माणको काम प्रायः ठप्प भएको इटहरीका हार्डवेयर व्यवसायी तथा कामाख्या माँ सप्लायर्सका सञ्चालक शङ्कर अग्रवाल बताउँछन् । आफूले निर्माण गर्दै गरेको घरको काम एक सातादेखि रोकिएको बताउँदै उनी भन्छन्, ‘मौसमले यो वर्ष भदौमा पनि दुःख दियो ।’

लगातारको वर्षाले ठेला रिक्सा चालकले पनि बेरोजगार भएको बताएका छन् । काम नै नभएपछि उनीहरूको दैनिकी पनि कष्टकर भएको बताएका छन् । यता वर्षाका कारण मुख्य बजार क्षेत्रमा मकै पोलेर बेच्ने पनि समस्यामा परेका छन् । दैनिक पानी पर्दा समस्या गरिब तथा विपन्नहरूलाई हुने गरेको छ ।

झरीले सडक निर्माणलाई पनि प्रभावित गरेको छ । दैनिक परेको झरीले सडक निर्माणको कामसमेत प्रभावित भएको छ । पछिल्लो एक सातायता लगातार पानी पर्दा वडाको पैनी तथा कुलोहरूसमेत बगाएको इटहरी–१९ का वडाध्यक्ष श्रीनारायाण चौधरीले बताए । दैनिक लगातार पानी पर्दा बाटोघाटोहरूसमेत बिगारेर समस्या भएको वडाध्यक्ष चौधरीको भनाइ छ । ‘बिहानैदेखि दिनभरि पानी पर्दा समस्या भयो’–उनले भने ।