भद्रपुर/ काँकडभिट्टा नाका खुलाउने पहल भइरहँदा भद्रपुर नाका पनि खोल्नुपर्ने त्यस क्षेत्रका उद्योगी व्यवसायीहरुले माग गरेका छन् ।
कोरोना सङ्क्रमण नियन्त्रणमा आएर सबै क्षेत्र सहज बन्दै गएका बेला अरु सीमा नाकासँगै भद्रपुर नाका पनि खोलिनु पर्ने उनीहरुको माग छ ।

कोरोना सङ्क्रमणको पहिलो लहरदेखि नै भद्रपुर नाका बन्द छ । विगत १७ महिनादेखि आवतजावत समेत ठप्प बनेको भद्रपुर नाका खुलाउने विषयमा पहल नहुँदा यहाँका उद्योगी व्यवसायीले गुनासो गरेका छन् ।

भद्रपुरको मेची पुलबाट स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आवतजावत गर्न दिने व्यवस्था मिलाइनुपर्ने उनीहरुको माग हो । काँकडभिट्टा नाका खोलिनु राम्रो कुरा भएको भन्दै झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष यम बहादुर श्रेष्ठले भद्रपुर नाका पनि खोलिनु पर्ने बताए । भद्रपुर नाका बन्द हुँदा भद्रपुर क्षेत्रमा व्यापार व्यवसाय ठप्प रहेको उनले बताए । भद्रपुर  नाकाबाट ठूलो मात्रामा कोइला आयात हुने गरेकोमा बन्द हुँदा समस्या भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

हजारौ भारतीय सवारीहरु नेपाल भित्रिरहँदा कोरोनाको खोप लगाएका व्यक्तिहरुलाई भद्रपुर नाकाबाट आवतजावत गर्ने व्यवस्था मिलाइनु पर्ने उद्योगी विनय गोयलले बताए । नेपालका अरु सीमा नाका सहज बन्दै गए पनि भद्रपुर नाका चाहिँ किन बन्दको बन्द ? उनले प्रश्न गरे । सिमावर्ती क्षेत्रका बासिन्दाहरुले भारत जानैपर्ने बाध्यता रहेको र पुरै भारतमा सहज भइसकेकाले अब सीमा नाका खोल्दा गाह्रो नहुने गोयलको धारणा छ ।

काँकडभिट्टा नाका खोल्नुपर्ने भन्दै त्यस क्षेत्रका उद्योगी व्यवसायी, नागरिक समाज, राजनीतिक दलहरू लागिपरेका छन् । प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरुले नाका खुलाउन केन्द्रमा ज्ञापनपत्र पठाएका छन् । नेपाल सरकारको मन्त्रिपरिषदबाट निर्णय गराएर काँकडभिट्टा नाका खोल्ने सहजीकरण भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । उनले भद्रपुर नाका खोल्ने विषयमा भने माग नभएको र पहल पनि नभएको जानकारी दिए ।

सरकारले काँकडभिट्टासहित देशका ८ वटा सीमा नाका खोल्न दिने अनुमति दिएको छ । अब भद्रपुर नाका खोल्नुपर्ने माग भएमा त्यसलाई केन्द्रमा पठाउनुपर्ने प्रजिअ तिमिल्सिनाको भनाइ छ । तर, भद्रपुर क्षेत्रका व्यवसायीहरुले गत वर्षदेखि नै आफूहरुले भद्रपुर नाका खोल्नुपर्ने माग गर्दै आएको बताएका छन् ।