सुनसरी । अविरल वर्षाका कारण सप्तकोसी नदीमा आएको बाढीबाट सुनसरीका ७० घर डुबानमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सुनसरीका विभिन्न गाउँपालिकाका ७० घर डुबानमा परेका हुन् । वराहक्षेत्र नगरपालिका–६ गरैयाटापुका करिब ५० घर डुबानमा परेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । यता कोसीको बाढीका कारण गरैया (श्रीलङ्का) टापुमा अलपत्र परेका सातजनालाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ ।

त्यस्तै कोसी गाउँपालिका–८ का २० घर डुबानमा परेका छन् । डुबानमा परेका क्षेत्रमा तत्काल उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी खटिएको थियो । कतिपयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिए पनि केहीले नमानेको प्रजिअ ढकालले जानकारी दिए ।

वर्षाले गर्दा सप्तकोसी नदीको बहाव ह्वात्तै बढेको छ । जसका कारण कोसी नदीका तटीय क्षेत्रमा त्रास उत्पन्न भएको छ । नदीमा आएको बहावका कारण पश्चिम तटीय क्षेत्रमा कटानको जोखिम बढेको छ । उदयपुरका केही क्षेत्रमा कटानसमेत सुरु भएको जनाइएको छ । खासगरी बेलका नगरपालिकातर्फको तटीय क्षेत्रमा नदीले कटान गर्दै आएको छ ।

बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले कोसी कटानले त्रास बढाएको बताए । सामाजिक सञ्जालमै बेलका–८ को सिसौली उत्तरको कोसी तटमा जारी कटान रोक्ने कार्यमा सबैको साथ आवश्यक भएको उनले जनाए ।

उनले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार क्षति नियन्त्रण र रोकथामको प्रयास थालिएको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाका अनुसार तटीय क्षेत्रमा विशेष सावधानी अपनाइएको छ । निरौलाले कटान बढ्दै गएमा १, २, ३, ८ र ९ नम्बर वडामा बढी मात्रामा क्षति पुग्ने सम्भावना रहेको बताए ।

कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार कोसीमा पानीको बहाव २ लाख ७४ हजार क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ । बहाव बढेसँगै कोसी ब्यारेजका ३८ वटा ढोका खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । सुनसरी प्रशासनका अनुसार चतरा मापन केन्द्रमा समेत कोसी नदीको जलस्तर बढ्दो क्रममा देखिएको छ ।

koshi1

स्थानीयले प्रशासनलाई झुक्याए !
आइतबार दिउँसोको अधिकांश समय सुनसरीका प्रजिअ उमेशकुमार ढकालसहित जिल्लास्थित सुरक्षा निकायको टोलीले कोसी क्षेत्रमा समय बितायो । नेपाली सेनाको टोली ५ वटा बोटसहित उद्धारमा खटिएको थियो ।

सशस्त्र र नेपाल प्रहरीको टोलीलाई समेत उद्धारका लागि बोलाइएको थियो । सुरक्षा निकायका प्रमुखसहित कोसी तट पुगेका प्रजिअ ढकालले स्थानीयको आग्रहअनुसार बाढीका कारण गरैया टापुमा फसेका ५० बढीको उद्धारमा जुटेको सो बेला ब्लाष्टलाई जानकारी दिए ।

‘बाढीमा फसेकाहरूको उद्धार गर्न भनेर तयारी साथ टोली तैनाथ गरियो । तर, उनीहरू आउनै चाहेनन्’ प्रजिअ ढकालले भने, ‘दिनभर रुँगेर फकाउँदासमेत ७ जनाबाहेकलाई वारिपट्टि सुरक्षित स्थानमा ल्याउन सकिएन ।’