सप्तकोशी नदी टिलपिल छ । कति फेला कहाँबाट फुट्ने हो थाहा छैन । किनारा छिचोलिहाले श्रीलङ्का टप्पु क्षेत्र रहँदैन । वराहक्षेत्र नगरपालिकाको वडा नं. ६ र ९, बेलका नगरपालिकाको वडा नं. २, ३, ८ र  ९ बढी जोखिममा छन् । सप्तरीको सप्तकोशी नगरपालिका र कञ्चनरुप नगरपालिका समेत जोखिममा परेको छ । 

बाँध नियन्त्रण गर्न नसकेको अवस्था कस्तो होला ? कसैले पनि कल्पना गर्न सक्दैन । उदयपुरको बेलका नगरपालिकाले किनारा छिचोल्नै लागेका सम्भावित क्षेत्रमा अहोरात्र काम गरिरहेको छ । निरन्तर बढी रहेको बाढीका कारण बेलका नगरपालिकाको वडा नं. ८ लाहुरे खोंचबाट कटान गर्दै नदीले बहाव तथा धार परिवर्तन गरेको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले बताए । 

विपदै विपद्ले जेलिएको टप्पुलाई जोगाउने स्थानीय जाग्राम बसेरै काम गरिरहेका छन् । बोरामा बालुवा भर्दै किनारा उठाइरहेका छन् । उपलब्ध स्रोत साधनबाट नदी नियन्त्रणमा गाउँले लागेका छन् । 

‘कहिले जंगली हात्तीको विपद्, कहिले वन विवाद्, टप्पुवासीले यसरी बर्खा र बाढीको विपद् पनि झेल्नु परेको छ,’ स्थानीय शिक्षक दमनबहादुर कटवालले भने, ‘१५ मिटरमात्रै बाँकी छ, यति काट्यो भने पूरै कोशी टप्पुतिर बग्छ ।’ तत्काल नियन्त्रण गर्न नसके कोशीले धार परिवर्तन गर्ने शिक्षक कटुवाल बताउँछन् ।

तत्काल बाँध लगाउने तथा कटान रोक्ने कार्यका लागि नगरले सबै प्रकारका हेभ्भी इक्युप्मेन्ट प्रयोग गर्ने निर्णय गरेको छ । स्थानीय स्तरका सबै स्रोत साधन प्रयोग तथा सुरक्षा जनशक्तिको प्रयोग गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलेको अध्यक्षतामा बैठक बसी कोशी नियन्त्रणमा अहोरात्र लाग्ने निर्णय गरेको छ । 

कटान क्षेत्रको करिब ३ सय मिटर लम्बाई तथा करिब १० मिटर चौडाई क्षेत्रमा कटान रोक्न जिल्ला सिचाइ डिभिजन कार्यालयको सहयोगमा नगरले लन्चिङ ड्यउाम तथा स्याण्ड प्याकिङ को कार्य तुरुन्त गर्ने निर्णय गरेको छ । यसका लागि डिभिजन सिचाइ कार्यालयले नगरलाई ८ हजार थान बोरा तथा ५० थान तारजाली उपलब्ध गराउने निर्णय भएको छ ।

कोशी कटान तथा वहाव परिवर्तन रोक्न अल्पकालीन तथा दीर्घकालीन कार्यक्रम तय गर्न प्रदेश तथा संघीय सरकारलाई विशेष अनुरोध गर्ने, यसका लागि आवश्यक स्रोत साधन तथा जनशक्तिको लागि समेत अनुरोध गर्ने निर्णय भएको छ । 

कोशीको वहाव परिवर्तन हुन सक्ने र नदी पश्चिम क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाले उद्धार तथा राहतका लागि सबै सुरक्षा निकायलाई उच्च सतर्क रही तुरुन्त परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राख्ने निर्णय भएको छ । 

कटान तथा वहाव परिवर्तनबाट हुनसक्ने जोखिमको सूचना तत्काल सबै प्रकारका सञ्चार माध्यमबाट स्थानीयवासी तथा नदी किनारवासीलाई जानकारी गराउने समेत निर्णय भएको छ । 

सप्तकोशी नदीमा यस वर्षकै पानीको उच्च वहाव मापन गरिएको छ । हिजो कोशी ब्यारेज भएर दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेन्ड पानी बगेको छ । 

 नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३८ वटा ढोका खुल्ला गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

नदीमा पानीको बहावमा आएको उतारचढावका कारण कोशीका पश्चिम तटीय क्षेत्रका कतिपय स्थानमा तीव्र कटान भएकाले गरैया टापुका २० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । 

कोशी नदीको वितण्डाबारे बारम्बार सञ्चार माध्यममा समाचार आइरहे पनि नियामक निकाय एकअर्काको मुख ताकेर बसिरहेको थियाे । विपद्मा एकै ठाउँ रहेर काम गर्न नसकेका सुनसरी र उदयपुर जिल्ला प्रशासनले बाढी बस्तीमा पस्नै लागेपछि निर्णय गरेका छन् । सुनसरी जिल्ला प्रशासन कार्यालयले जोखिमको अध्ययन गर्ने गरी सुनसरी मोरङ सिचाइ आयोजनाका प्रमुखको संयोजकत्वमा पाँच सदस्य अध्ययन समिति बनाएको थियो । यता उदयपुर जिल्ला प्रशासन र विपद् व्यवस्थापन समितिले स्थलगत निरीक्षण गरी फिल्डमा काम थालिसकेको छ ।

कोशी नदीको पूर्वी तटबन्धमा भारतको विहार सरकारको जल संशाधन विभागले नदी नियन्त्रणमा काम गरे पनि पश्चिमी तटबन्धमा काम गरेको छैन । चिलैया क्षेत्रमा केही त्रिखुट्टी लाए पनि प्रभावकारी भएको छैन । बाढी पसे ७० वर्षदेखि बसोबास रहेको श्रीलंका टप्पुका २५ सय घरपरिवारको नामनिशाना रहने छैन ।