यमनको सबैभन्दा ठूलो सैन्य हवाइ अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकूकोे मृत्यु भएको छ ।  घटनामा दर्जनौ अन्य घाइते भएका छन् ।

 उक्त हमलाका लागि इरानको निकट मानिने यमनी हुथी विद्रोहीलाई दोषी ठह्रयाएको चिकित्सक तथा सरकार निकट उक्त लडाकू समूहले जानकारी गराएको छ ।

“आक्रमणमा ३० भन्दा बढी व्यक्ति मारिएका छन् र कम्तीमा ५६ जना घाइते भएका छन्,” यमनी सशस्त्र लडाकू समूहका प्रवक्ता मोहम्मद अल–नाकिबले घटनाको पुष्टि गर्दै भन्नुभयो । उहाँले आक्रमणमा हुथीहरूको हात रहेको दावी गर्नुभएको छ ।

सैनिक चिकित्सकले घटना लगत्तै दिएको प्रतिक्रियामा सात जनाको मृत्यु भएको बताएपनि अस्पतालमा पुगेका अन्य २३ जनाको पनि उपचारका क्रममा मृत्यु भएको बताएका छन् । घाइतेमध्ये अझै केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या अझै बढ्नसक्ने उनीहरूले बताए । 

हुथी समूहले यस घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।