सुनसरी । सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ ।

केहि दिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ ।

नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पहिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ ।

पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारण समेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आंकलन गरिएको छ ।

यसैबिच निरन्तरको वर्षासँगै कोशीको वहावमा निकै नै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमा आएको उतार चढावका कारण यस अघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पूनः कटान सुरु भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नदीले टापु क्षेत्रका केहि स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए । उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ । नदीको वहाव बढेसँगै प्रजिअसहितको टोली कोशी क्षेत्रको निरिक्षणमा निस्केको छ ।