धरान। एक महिनादेखि नेपालको जङ्गलमा भारतबाट पसेका २० जङ्गली हात्ती डुलिरहेका छन् ।
गत साउन १३ गते सीमामा लगाइएको विद्युतीय तारबार नाघेर ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल पसेका थिए ।
भित्रिएका हात्ती लामो अवधिसम्म नेपालमै बसिरहँदा स्थानीयवासीमा त्रास बढेको मानव हात्तीद्वन्द्व न्यूनीकरण अभियानकर्मी शङ्कर लुइँटेलले बताए ।
बाहुनडाँगीको तिरिङदेखि काँकरभिट्टासम्म १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार निर्माण गरेको सात वर्षपछि हात्तीको बथान नेपाल पसेको यो पहिलो पटक हो ।
उनका अनुसार २० मध्ये १८ एउटै झुण्डमा डुल्ने गरेका र दुई दाह्रे हात्ती
भने अलग्गै छन् । बथानबाट लखेटिएका हात्तीलाई “मालजोरिया” भन्ने गरिन्छ ।
ती दुई हात्ती बथानको छेउछाउ नै डुल्ने गरेका छन् ।
“ यसपाली एक महिना भइसक्यो हात्तीको बथान भारततिर फर्किएको छैन,” अभियानकर्मी लुइँटेल भन्छन्, “किन फर्किएनन् भन्ने नयाँ खोजको विषय भएको छ । कतै यिनीहरु नेपालतिरै बस्न लागेका त होइनन् भन्ने प्रश्न पनि उब्जिएको छ ।”
हाल झापामा १३ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालयले जनाएको छ । ती हात्ती पनि कुनै बेला यसरी नै भारतबाट पसेर यतै बसेको हुनसक्ने लुइँटेलको अनुमान छ । हालै भित्रिएका हात्तीको बथान उत्तरी झापाको मेचीनगर, अर्जुनधारा र कनकाइको वन क्षेत्रमा डुलिरहेका छन् ।
ती वन क्षेत्रमा हात्तीले रुचाउने जङ्गली अठिया केरा र बाँसको तामाजस्ता आहारा प्रशस्त मात्रामा छ । नयाँ बथानले अहिलेसम्म मानवीय क्षति नगरे पनि कनकाइको सुकेडाँगीमा एउटा घरपालुवा जनावर मरेको थियो । जङ्गल आसपास मानव वस्तीमा हात्ती डुल्ने गर्दा स्थानीयवासीमा त्रास बढेको छ ।
स्राेतःरासस