सुनसरी। प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा कडाइ गरे पनि सुनसरी जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा घरेलु मदिराको उत्पादन र कारोबार भइरहेको छ ।

पछिल्लो समय दलित तथा निम्न वर्गीय घरपरिवारमा महिला तथा बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा र घरायसी विवादको मुख्य कारण घरेलु मदिरा बन्दै गएको कोसी गाउँपालिकाका लक्ष्मण मुखिया बताउँछन् । दिनभरि मजदुरी गर्दै साँझ घरेलु मदिराको सेवन गरेर कोसी गाउँपालिका क्षेत्रका मुसहर तथा विपन्न समुदायका घरपरिवारमा झै–झगडा हुने गरेको उनले बताए ।

कोसी गाउँपालिका वडानम्बर १, २, ६ र ७ मा घरेलु मदिराको उत्पादन तथा बिक्रीवितरण हुने गरेको मुखियाको भनाइ छ । अशिक्षित, गरिब र निमुखा दलित समुदायको बसोबास भएको क्षेत्रमा सबैभन्दा बढी मदिराको कारोबार हुने गरेको छ ।

दलित महिलाहरू चेतना अभावमा उत्पादन र कारोबार गरेर घरेलु मदिरालाई जीविकोपार्जनको माध्यम बनाएको अर्का स्थानीय पवित्रा सदाले बताइन् । जीविका चलाउने माध्यम बनाएको हुँदा घरेलु मदिरा न्यूनीकरण गर्नु चुनौतीपूर्ण रहेको उनको बुझाइ छ । प्रहरीले पटक–पटक मदिराको उत्पादन तथा कारोबार नगर्न सचेत गराए पनि गाउँमा अझै कायमै रहेको पवित्रा बताउँछिन् ।

दिनभर विभिन्न काममा व्यस्त रहने दलित महिलाहरू साँझ परेपछि असुरक्षित हुने गरेको उनले बताइन् । रक्सी पिएर आउने श्रीमान्ले भनेअनुसार नहुँदा श्रीमतीलाई दिनहुँजसो कुटपिट गर्दै विभिन्न यातना दिने गरेको पवित्राले बताइन् । मदिराकै कारण ग्रामीण क्षेत्रका महिला दिदीबहिनीले अनावश्यक रूपमा आफ्नै घरपरिवारबाट हिंसा खेपिरहेको उनको भनाइ छ ।

श्रीमान् वा आफ्नै घरपरिवारबाट हिंसा खेप्न बाध्य भए पनि कमै महिला त्यसको विरुद्ध प्रहरीमा जानेको गरेको कोसी गाउँपालिका वडानम्बर ७ की दलित महिला सदस्य पार्वती मुखिया बताउँछिन् । आफूमाथि भइरहेको हिंसाका बारेमा अझै पनि महिलाहरू खुलेर बोल्न नसकेको बताउँदै उनले कहिलेकाहीँ प्रहरीमा पुगेका मुद्दा पनि अधिकांश मिलापत्रमै टुङ्गिने गरेको बताइन् ।

मदिरा सेवन गरेर सार्वजनिक रूपमा हो–हल्ला मच्चाउने, घरपरिवार, छिमेकी तथा साथीभाइमा झै–झगडा गर्दै कुटपिटका घटना दिनहुँजसो हुने गरेको पार्वतीले बताइन् । नियमित रूपमा गालीगलौज र झै–झगडा हुने भएकोले तत्काल घरेलु मदिरा नियन्त्रण गर्नुपर्ने उनले माग गरिन् ।

घरेलु मदिराका कारण हिंसा बढेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले त्यसविरुद्धको अभियान चलाएको जनाएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसाको कारण घरेलु मदिरासमेत भएकाले सुनसरी जिल्लालाई मदिरामुक्त बनाइछाड्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले दाबी गरे ।

ग्रामीणभेगमा बसोबास गर्ने दलित बस्तीमा घरेलु मदिराकै कारण विवाद हुने गरेको पाइएको हुँदा त्यसको विरुद्ध आफूहरूले अभियान चलाएको एसपी थापाले बताए । गाउँमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण हुने हुँदा हिंसा बढेकोले नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाए पनि नियन्त्रणमा चुनौती रहेको बताइएको छ ।

विपन्न समुदायमा घरेलु मदिरा सेवनले शारीरिक, मानसिक, आर्थिक, सामाजिक रूपमा कमजोर बनाउनुका साथै घरपरिवार अशान्त हुने गरेकाले त्यस्ता समस्याबाट उनीहरूलाई जोगाउन रक्सीमुक्त जिल्ला बनाइछाड्ने एसपी थापाको अठोट छ ।