अफगानिस्तानमा अमेरिकी सेनाले ठूलो कारबाही गरेको छ । काबुल विष्फोटको प्रतिउत्तरमा अमेरिकी सेनाले अफगानिस्तानमा आइएस आतंकवादीका विरुद्ध एयरस्ट्राइक गरेको सञ्चारमाध्यमले जनाएका छन् । 

सञ्चारमाध्यमका अनुसार मानवरहित विमानबाट नाङ्गरहारमा अमेरिकी सेनाले हवाई आक्रमण गरेको छ । अमेरिकी सेनाले काबुल ब्लास्टका योजनाकारलाई परास्त गरेको दाबी गरेको छ ।

एयर स्ट्राइकपछि अमेरिकाले काबुल एयरपोर्ट छाड्न आह्वान गरेको छ । काबुल एयरपोर्टमा पुनः आतंकवादी हमला हुन सक्ने अमेरिकाको आशंका छ । आतंवादी टारगेटलाई ध्वस्त गरेको पेन्टागनको दाबी छ । उसले आइएसआइएसको इलाकामा ड्रोन आक्रमण गरेको बताइएको छ  ।

बिहीबार अफगानिस्तानको राजधानी काबुल एयरपोर्टनजिक दुई ठूला विष्फोट भएको थियो । विष्फोटमा १ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । विष्फोटमा १३ अमेरिकी सैनिक मारिएका थिए । आतंकवादी संगठन आइएसआइएसले विष्फोटको जिम्मा लिएको थियो । 

काबुल एयरपोर्टमा भएको विष्फोटले विश्वलाई चुनौती दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।