पथरीशनिश्चरे /  नेपालस्थित अमेरिकी दुतावासका राजनीतिक तथा आर्थिक मामिला अधिकारी साल्भाडोर मोलिनाले शुक्रबार मोरङको पथरी शनिश्चरे नगरका जनप्रतिनिधिहरुसँग भेटी नगरमा रहेका भूटानी शरणार्थी र स्थानीयबीचको समन्वयका बारेमा जानकारी लिएका छन् ।

नगरपालिका कार्यालयमा भएको भेटघाटमा मोलिनाले शरणार्थी सम्बन्धी  उच्चायोग ( यूएनएचसीआर) ले सहायता कार्यक्रम छोडेपछिको शरणार्थीको अवस्था, स्थानीयसँगको समन्वय सहितका विषयमा चासोपूर्ण रुपमा जानकारी लिएका छन् ।

शरणार्थीको स्वदेशफिर्तीको अपेक्षा आफुहरुले बुझेको भएपनि हालसम्म स्वदेशफिर्तीको ढोका खुल्न नसकेकाले उनीहरुको तेस्रोमुलुक पुनर्वासको कार्यक्रम अघि बढेको जनाए । उनले नेपालको नेपालको राजनीतिक परिवेशबाट हाल सरकार परिवर्तनले लोकतन्त्र तथा सामाजिक सद्भावमा कस्तो असर पर्ला भनेर समेत जिज्ञासा राखेका थिए ।

साथै उनले नगर अस्पतालको पनि अवलोकन गरेका छन् । यूएनएचसीआरले शरणार्थीका लागि राहत कार्यक्रम वन्द गरेपछि नगरपालिकाले तेस्रो मुलक नगएका शिविरका शरणार्थीको शिक्षा, स्वास्थ्य सहित मानवीय सहायता पुर्याउँदै आएको छ । उनीहरुको रोजगारीका लागि स्थानीय बजारमा अवसर दिएको छ ।

भेटमा नगर प्रमुख दिलीपकुमार राईले भूटानी शरणार्थीहरुका लागि मानवीय हिसावले हरतरहले साथ सहयोग पुर्याइरहेको तथा आपसी समन्वय रहेको जानकारी गराए । उनले शरणार्थी प्रभावित क्षेत्रका रुपमा रहेको नगरमा यूएनएचसीआरले पुर्याएको सहयोगको प्रसंशा गर्दै नगरका लागि आवश्यक परेको खण्डमा सहयोग पुर्याइरहन समेत अनुरोध गरेका छन् ।

 मोलिना, दुतावासका कर्मचारी पेमा तेन्जिङ सहितको टोलीले नगर प्रमुख राई सहित उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितसँग भेटघाट गरेको हो ।

टोलीले शरणार्थी शिविरको पनि अवलोकन गरेको छ । पथरीशनिश्चरेमा १ हजार ५ सय तथा झापाको बेलडाँगीमा ६ हजार गरी ७ हजार ५ सयको हाराहारीमा हाल भूटानी शरणार्थी रहेका छन् ।