जिल्ला प्रशासन कार्यालय सुनसरीले केही दिन अगाडि सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित श्रीलङ्का टापुमा गरेको कटानको विषयमा यथार्थ बुझ्नका लागि समिति गठन गरेको छ ।
सुनसरी मोरङ सिँचाइ आयोजना प्रमुखको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
समितिमा जलस्रोत डिभिजन कार्यालय इनरुवा, भूआर्जन कार्यालयका पदाधिकारी सदस्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
समितिले सम्बन्धित नगरपालिकासँगको समन्वयमा स्थलगत अध्ययन गरेर छिटोभन्दा छिटो प्रतिवेदन तयार गरी जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुझाउने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
केही दिन अगाडि मात्र सप्तकोसी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ को श्रीलङ्का टापुमा तीव्र कटान गरेको थियो ।
नगरपालिकाको समन्वयमा समितिले अध्ययन गरी क्षतिपूर्ति र नियन्त्रणका लागि प्रक्रिया अघि बढाउने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
भारतले पश्चिमतर्फ तटबन्ध निर्माण नगर्दा यस क्षेत्रमा बाढीले बर्सेनि हजारौँ बिघा जमिन कटान गरेको स्थानीयवासीले बताएका छन् ।