यस वर्षबाट व्यवस्थापन सङ्कायको पढाइ थाल्नुभएछ, अन्य सङ्कायको तुलनामा किन व्यवस्थापन नै ?
–जतिसुकै विज्ञान र प्रविधिको कुरा गरे पनि त्यसको व्यवस्थापन गर्न व्यवस्थापकीय क्षमताले नै अहम् भूमिका खेलेको हुन्छ । अहिलेको औद्योगिक तथा व्यापारिक युगमा त्यसको उचित व्यवस्थापन गर्नको निम्ति पनि यसै सङ्कायबाट उत्पादन भएका मानव संसाधनको माग व्यापक हुँदै गएको अवस्था छ ।
त्यसैगरी विभिन्न क्षेत्र जस्तैः सेवा क्षेत्रभित्र बैङ्किङ, इन्स्योरेन्स कम्पनीहरू, शिक्षा, प्रशासन आदिमा यसको आवश्यकता त्यत्तिकै छँदैछ । त्यसरी नै सरकारी सेवाभित्र प्रशासन, लेखा आदि लगायत पेशागत क्षेत्र अन्तर्गत विभिन्न मुलुकका पेशागत सङ्गठनसँग आबद्घ हुनको लागि चार्टर्ड अकाउण्टेण्ट उत्पादन यसै सङ्कायबाट मात्र सम्भव भएको यथार्थतालाई महसुस भएको कारण अन्य सङ्कायको तुलनामा व्यवस्थापन सङ्कायको पढाइलाई नै अगाडि बढाइएको हो । 

विशेषगरी कुनकुन विषयलाई केन्द्रित गर्नुभएको छ ?
–विशेषगरी व्यवस्थापन सङ्कायका विद्यार्थीलाई आवश्यक पर्ने विषय जस्तैः एकाउण्टिङ, इकोनोमिक्स, बिजनेश स्टडिज, म्याथमा केन्द्रित हुनेछौं ।

शेयर मार्केट, चार्टर्ड एकाउण्टेण्टबारे पनि अध्ययन गराउने भन्ने छ, यो चाहिँ यही सङ्कायअन्तर्गत हो कि छुट्टै हो ?
शेयर मार्केट र चार्टड अकाउन्टेन्टबारे अध्यापन चाहि होइन यी विषयसँग व्यवस्थापन सङ्कायले सम्बन्ध राख्ने भएकोले यस विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई यी विषय सम्बन्धी सम्बन्धित क्षेत्रका विशेषज्ञलाई आमन्त्रण गरेर थप ज्ञान दिलाउनु भन्ने हो, जसले गर्दा विद्यार्थीहरूमा अझ बढी फलदायी र जीवनोपयोगी र व्यावसायिक ज्ञानको विकास होओस् ।

अहिले मावितह भनेपछि कक्षा १२ सम्मलाई लिइन्छ, अनि अन्य सङ्कायचाहिँ पढाउने उद्देश्य छैन ?
–अवश्य छ, तर विज्ञान सङ्कायको लागि व्यवस्थित प्रयोगशालाको व्यवस्था हुनुपर्छ, चलाउँछु भनेर मात्र हुँदैन । त्यसको लागि हामी आउने वर्षमा योजना बनाउने तरखरमा छौं । हामी अन्य सङ्कायहरू थप गर्दै लैजानेछौं, र आवश्यक पूर्वाधारहरूको इमान्दारसाथ व्यास्थापन पनि गर्दै जानेछौं ।

विशेषगरी अहिले विज्ञान र प्रविधिको युग छ, सुनाखरीमा चाहिँ व्यस्थापन मात्रै छ, सोचेजति विद्यार्थी आउलान् ?
–बिना व्यवस्थापन विज्ञान र प्रविधिको कुरा गरेर मात्र हुँदैन र सबै सङ्कायको उत्तिकै महत्व हुन्छ नै । त्यस अर्थमा विद्यार्थीमा नकारात्मक सोच आएको  छैन र आउने पनि छैन ।

कोरोना महामारीका कारण अतिरिक्त गतिविधि गर्न पाउनुभएको छैन, त्यसलाई चाहिँ कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
–अवश्य पनि अतिरिक्त क्रियाकलापमा कोभिडको कारण प्रत्यक्ष असर त पुगेकै छ, तर पनि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैं हाम्रा विद्यार्थीहरू स्वतःस्फूर्त रूपमा प्रशिक्षणमा सहभागी भई नै रहेका छन् । त्यसमा पनि हाम्रा प्रशिक्षकहरू कहिल्यै नथाकी विद्यार्थीलाई सक्रिय बनाउन लागिपर्नुभएको छ । समय अनुकूल भए पछि हामीले प्रत्यक्ष सहभागितालाई निरन्तरता दिने नै छौं र समय प्रतिकूल रहिरहेको खण्डमा वैकल्पिक विधिमार्फत् पनि हामी हाम्रा नानीहरूलाई अन्य क्रियाकलापमा संलग्न गराई सिर्जनात्मक बनाउने सोचमा छौं ।

सुनाखरीमा विद्यार्थीहरू किन पढ्न आउने ?
–उत्कृष्ट रिजल्ट ल्याउन, पढाइलगायत अन्य अतिरिक्त क्रियाकलापको अनुभवसँगै आफूलाई फरक महसुस गर्न । व्यक्तित्व तथा नेतृत्व विकासको लागि एउटा छुट्टै प्लेटफर्म पाउन ।