नवगायिका निर्जला प्रसाईले ‘मायाले घोच्छ काँडा बनी’ बोलको आधुनिक गीत सार्वजनिक गरेकी छन् । झापाको बिर्तामोडकी गायिका प्रसाईले बियोगान्त कथामा आधारित रहेर निर्माण गरिएको गीत र त्यसको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

साहित्यकार लक्ष्मी उप्रेतीको शब्द, मणि बर्देवाको संगीत र बिषम आचार्यको संगीत संयोजन रहेको गीतले श्रोता तथा दर्शकको मन जित्ने बिश्वास लिइएको गायिका प्रसाईँले बताईन् । बिर्तामोडको सरगम डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोसमेत निर्माण भएको छ ।

कुना मिडियाको प्रस्तुती तथा दिपेन भेट्वालको निर्देशन रहेको म्युजिक भिडियोमा मल्लिका कौशिक र मञ्जिल जङ कटवालले अभिनय गरेका छन् । म्युजिक भिडियोमा अभिनय गर्ने दुबै मोडल नयाँ हुन् । म्युजिक भिडियोमा युवा युवतीको अदृष्य प्रेम तथा युवाको हौसलाका कारण सफल बन्न सकेकी युवतीको कथा देखाइएको छ ।

बिर्तामोडमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ गीतकार शिबशंकर थापाले म्युजिक भिडियोको बिमोचन गरेका थिए । साहित्य चौतारी झापाका संस्थापक संरक्षक देविभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गीतको समिक्षा अर्का साहित्यकार भगवती ढुङगेलले गरेको कार्यक्रममा गायिका प्रसाईँले बियोगान्त प्रेम कथामा आधारित गीत र म्युजिक भिडियोले श्रोता दर्शकको मन जित्ने बताईन् ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नयाँ श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापा, राष्ट्रिय अनुसंधान बिभागका झापा प्रमुख तीलक प्रसाईँ, ब्यवसायी दीपक दहाल लगायतको सहभागिता रहेको थियो ।

बिमोचन कार्यक्रममा बिभिन्न श्रष्टाले सांगीतिक प्रस्तुती राखेका थिए । कार्यक्रमको सञ्चालन कुना मिडियाका अध्यक्ष तथा सञ्चारकर्मी देवी गौतमले गरेका थिए ।