सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आईसोलेसन किट’ पठाए । दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री गुरुङले कोभिड–१९ संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा जिल्लाबासीले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्न ‘होम आईसोलेसन किट’सहितको स्वास्थ्य सुरक्षा सामग्री घरघरमा पुुग्ने गरी पठाए ।
स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको उपस्थितिमा वितरण गर्ने व्यवस्था मिलाइएको सो सामग्री संक्रमितले प्रारम्भिक चरणको उपचार घरैमा बसेर गर्न मिल्ने व्यवस्थासहित पठाइएको हो । उनले भने, “दोलखा हेल्थ फाउन्डेशनको सहकार्यमा जिल्लाका सबै स्थानीय तहमा आवश्यक्ताको आधारमा वितरण गरिनेछ ।”
काठमाडौंबाट पठाइएको औंषधिसहितको सो किटमा चिकित्सकको परामर्शमा संक्रमितका लागि अत्यावश्यक औषधि तथा स्वास्थ्य सुरक्षा सामग्रीहरु रहेका छन् । मन्त्री गुरुङले कोभिड संक्रमण हुुनेबित्तिकै हतास वा निराश हुने अवस्था आएकाले दोलखालीबासीलाई ढुक्क भएर स्वास्थ्यलाभ गर्न सो किटको व्यवस्था गरिएको बताए ।
काठमाडौंका अस्पतालमा संक्रमितको चाप बढ्न थालेपछि घरमै प्रारम्भिक चरणको उपचारको व्यवस्थाका लागि आवश्यक परामर्श लिन उनले आफ्नै सक्रियतामा दोलखा घर भई काठमाडौंलगायतका देशका विभिन्न भागमा रहेर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहेको सो फाउन्डेशनको स्थापना गरे ।
मन्त्री गुरुङले दोलखाली जनतालाई कोभिड संक्रमण हुुन नदिन, भए उपचारका लागि परामर्श लिने, अस्पतालमा आवश्यक्त परे उपचारको राम्रो व्यवस्था गर्न सो फाउन्डेशनले काम गर्ने समेत स्पष्ट पारे ।
हरि जिरेल संयोजक रहनुुभएको फाउन्डेशनमा चिकित्सक तथा स्वास्थ्यकर्मी पनि आबद्ध छन् । यसैबीच, मन्त्री गुरुङले कोभिड संकट आउन नदिन दोलखाबासी जनताको घरघरमा पुुगेर सेवा दिने स्थानीय सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय प्रशासन, सामाजिक संघ, संस्था,सञ्चारकर्मीसहित सबैलाई धन्यवाद दिए ।
उनले जनताको जीवनको सुरक्षा गर्ने दायित्व तीन वटै तहको सरकारले लिएको उल्लेख गर्दै कोभिड वरुद्धको अभियानमा उच्च मनोबलका साथ जुट्न पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे ।
मन्त्री गुरुङले आज दोलखाबासीको नाममा जारी गर्नु भएको अपिलमा भनिएको छ । घरघरमा पुगि कोभिड संकट समाधानमा लाग्ने स्थानीय सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय प्रशासन, सामाजिक संघ, संस्था, सञ्चारकर्मीसहित सबैलाई धन्यवाद दिन चाहन्छुु । संकटको यस घडीमा दोलखाली जनताको स्वास्थ्य सुरक्षामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछुु ।