चितवन ७ जेठ (रासस) कोरोना भाईरसको दोस्रो लहर चलिरहँदा अस्पताल आउने अधिकांश संक्रमितलाई सघन उपचार कक्षको जरुरत हुने गरेको छ । ती मध्ये कतिपयलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।

सम्भवत नेपालका अस्पतालमा यतिधेरै बिरामीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको यो पहिलो घटना हो । हरेक दिन कोभिडका कारण मृत्यु हुनेहरुको संख्या बढेको छ ।

 त्यसो त थोरै सघन उपचार कक्ष सञ्चालन गरिरहेका अस्पतालले बिरामीको चाप पछि यो संख्या निकै बढाएका छन् । 

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष समेत रहनु भएका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारी सघन उपचार कक्षमा काम गर्ने दक्ष जनशक्तिको अभाव रहेको बताए ।

 एनेस्थेसियोलोजिष्ट र फिजिसियनहरुले बिरामी हेरिरहेको भए पनि तालिम प्राप्त नर्सिङ सेवा दिन सक्ने पर्याप्त जनशक्ति नभएको अधिकारीको भनाइ छ । उनले भने । यो युनिटमा काम गर्ने महत्वपूर्ण भूमिका नर्सिङको हुन्छ ।

 उनिहरुलाई हामीले तालिम दिन सकेका छैनौं । कोभिडको पहिलो लहरसँगै दोस्रो लहर आउन सक्ने सम्भावना भए पनि त्यसतर्फ ध्यान दिन नसक्दा अहिले समस्या भएको उनको बुझाइ छ । 

विदेशमा नर्सहरुलाई क्रिटिकल केयरसम्बन्धी विशेष पढाइ र तालिम दिने गरेको भए पनि नेपालमा त्यसखालको तालिम समेत हुन नसकेको उनको भनाइ छ । 

कोभिडका बिरामीको मृत्युको कारण रोग भए पनि दक्ष जनशक्तिको अभावका कारण जति बचाउन सकिन्थ्यो । त्यसबाट चुकेको अधिकारी स्वीकार्नु हुन्छ । अधिकारीले भने  सरकारलाई ध्यानाकर्षण गराउनका लागि मृत्यु भएकाहरुको कारण खोजी (मोर्टालिटी अडिट) गर्नुपर्छ । 

जिल्लाको सरकारी सङ्घीय अस्पताल भरतपुरमा सघन उपचारका लागि विशेष तालिम लिएका जनशक्ति छैनन् । अधिकारीको भनाइमा क्रिटिकल केयरमा (सघन उपचार) मा यहाँका मेडिकल कलेज अगाडि छन् ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवम प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपाने देशमा नै सघन उपचारको (क्रिटिकल केयरको) आवश्यक संख््यामा जनशक्ति नभएको बताए ।

 उनले भने सघन उपचारको दक्ष जनशक्तिको अभावमा पनि हामीले धेरै नोक्सान व्यहोर्नु परेको छ । सरकारलाई विदेशमा जस्तै गरी नेपालमा पनि बिएस्सी, एमएस्सी नर्सिङमा क्रिटिकल केयर पढाउनु पर्ने सुझाव दिंदै आएको न्यौपानेको भनाइ छ । उनले भने मुख्य रुपमा क्रिटिकल केयर नर्सिङ जरुरत भयो ।

चितवन मेडिकल कलेजमा क्रिटिकल केयर सम्बन्धी अध्ययन गरेका एनेस्थेसियाका १२, डिएम ८ र फेलोसिप गरेका ६ जना रहेको भन्दै उनले यो जनशक्ति अन्य अस्पतालमा नभएको दावी गरे ।

 अस्पतालले यही जनशक्तिको सहयोगमा आन्तरिक रुपमा नर्सलाई वर्षको चार पटक सघन उपचारका विषयमा तालिम समेत दिंदै आएको उनले जानकारी दिए । 

कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने न्यौपानले बताए । बच्चाको सघन उपचार सम्बन्धमा डिएम गरेका जनशक्ति नेपालमै एक जना मात्रै रहेको भन्दै उनले दावी गरे । 

नेपालमै बच्चाको सघन उपचारमा डिएम गरेका एक मात्रै डाक्टर बिराज पराजुली हाम्रोमै काम गर्छन् । रोयल कलेज अफ इमर्जेन्सी मेडिसिन बेलायतसँग सहकार्य गरेर चितवन मेडिकल कलेजले मेम्बर अफ रोयल कलेज अफ इमर्जेन्सी मेडिसिन कार्यक्रम चलाएको छ । सो कार्यक्रममा नौ जनाले क्रिटिकल केयर सम्बन्धी अध्ययन गरिरहेको उनले बताए  । 

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालका आवासीय निर्देशक डा. मनोहर प्रधान सबै अस्पतालमा क्रिटिकल केयरमा आवश्यक जनशक्ति अभाव भएको स्वीकारे । 

सघन उपचारमा रहनेले त्यहाँ जडित उपकरण सम्बन्धी ज्ञान समेत भएको हुनुपर्दछ । प्रधानका अनुसार बिएस्सी नर्सिङलाई आवश्यक तालिम दिएर क्रिटिकल केयरमा काम लगाउने गरिएको छ । क्रिटिकल केयर आफैमा निकै संवेदनशील हुने गरेको भन्दै उनले सामान्य जनशक्तिले व्यवस्थापन गर्न नसक्ने बताए ।

कोभिड बिरामी बढेपछि मेडिकल कलेज र अस्पतालहरुले सघन उपचार कक्ष विस्तार गरिरहेका छन् । उपचार कक्ष बढेपछि जनशक्ति भने थोरैबाट व्यवस्थापन गरिंदै आएको छ । ती जनशक्ति पनि सबै दक्ष छैनन् ।

क्रिटिकल केयरमा दक्ष जनशक्ति अभाव भएपछि चितवन मेडिकल कलेजले आजबाट निःशुल्क भर्चुअल तालिम सुरु गर्दैछ । सय जनाको लक्ष्य राखेर गर्न लागेको तालिममा देशैभरबाट हालसम्म तीन हजार जनाले आवेदन दिएको अस्पतालले जनाएको छ ।

 अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार तालिमको व्यवस्थापन कठिन भएको छ । इच्छुकहरु निकै बढेको भन्दै उनले सबैलाई तालिममा सहभागी गर्ने गरी व्यवस्थापन गर्न लागिएको बताए ।

 तालिमको अवसर नपाएका आइसियूमा काम गरिरहेका नर्स, एमओ, रेसिडेन्ट, एनेस्थेसियोलोजिष्ट, इन्टरनल मेडिसिन कन्सल्टेन्टहरुका लागि यो तालिम उपयोगी हुने देवकोटाको भनाइ छ । कलेजका पल्मोनरी मेडिसिन र क्रिटिकल केयर मेडिसिनमा डिएम गरेका स्पेशलिष्ट प्राध्यापकहरुले तालिम दिने उनले जानकारी दिए ।

 तालिम पश्चात् परीक्षा लिईने छ । उक्त परीक्षा पास हुनेलाई पास भएको र पास हुन  नसक्नेलाई सहभागिताको प्रमाणपत्र दिने व्यवस्था रहेको कलेजले जनाएको छ । तालिम हरेक दिन साँझ ८ बजेदेखि नौ बजेसम्म हुनेछ । तालिममा १५ वटा भिन्दाभिन्दै कक्षाहरुमा आवश्यकता अनुसार भिडियो तयार गरी सहभागीलाई देखाइने छ । –––