सरोकार पक्षलाई थाहै नदिई झण्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयसम्बन्धी ऐन २०६७ लाई संशोधन गर्दै ‘मध्यपश्चिम विश्वविद्यालय’का रुपमा रुपान्तरण गरेको हो । 

विसं २०७७ असार २२ गते नेपाल राजपत्रमा प्रकाशित शिक्षासम्बन्धी उक्त ऐनको दफा ११ को उपदफा ९ मा लेखिएको छ । ठाउँ–ठाउँमा र प्रचलित कानूनमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय भन्ने शब्दको सट्टा ‘मध्यपश्चिम विश्वविद्यालय’ भन्ने शब्दहरु राखिनेछ ।

 विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले सरोकार पक्षलाई थाहै नदिई गुपचुपमा स्वायत्त संस्थाको नाम परिवर्तन गरिनु आपत्तिजनक रहेको प्रतिक्रिया दिए । विश्वविद्यालय ऐन र नाम परिवर्तनको प्रक्रिया छ तर  कुनै पनि पदाधिकारीले थाहै नपाउने गरी नाम परिवर्तन गरिएछ । उनले भने, नाम संशोधन गर्नुपरे कम्तीमा सरोकारवालासंँग छलफल गरिनुपथ्र्यो ।

उपकुलपति सिंहले नाम परिवर्तन गर्न आवश्यक भए कर्णाली, रारा वा अन्य कुनै नाम राख्न सकिने जनाउँदै यस्तो महत्वपूर्ण विषयमा हल्का रुपले निर्णय गर्दा संस्थाको व्ययभार अनावश्यक बढ्न पुगेको बताए । नाम परिवर्तन हुँदा मौज्दात लेटरप्याड, प्रतीकचिह्न, झण्डा, उत्तरपुस्तिकालगायत जिन्सी सामान खेर जानेछन् ।

–––