धनकुटा/ छथरजोरपाटी गाउँपालिका वडा नं. ५ मा रहेको चुलाचुली माध्यमिक विद्यालयले आफ्नो विद्यालयको नाममा रहेको जग्गामा भएको रुख अवैध रूपमा कटान गरी चोरी निकासी गर्ने दिलबहादुर राईलाई कानूनी कारबाहीको माग गरेको छ ।
विद्यालयको स्वामित्वमा रहेको जग्गाको दर्जनौं थान रुख कटान गरी चोरी निकासी गरेको भन्दै चुलाचुली माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत थोक्लेनले छथरजोरपाटी गाउँपालिका वडा नं.६ सिँधुवाका राईलाई कारबाहीको माग गर्दै निशान देवी सव–डिभिजन कार्यालय धनकुटामा शुक्रबार उजुरी दर्ता गराएका हुन् । विद्यालयको नाममा श्रेस्ता भएको छथरजोरपाटी गाउँपालिका वडा नं.६ स्थित कि.नं.१८८ को २ रोपनी ११ आना र कि.नं.२०३ को ५ रोपनी ८ आना ३ पैसा क्षेत्रफलभित्रको जग्गामा भएको १ सय ३३ थान उत्तिस र मलेदो जातको रुख कटान गरी बिक्री गरेको प्र.अ.थोक्लेनले हस्ताक्षर गरेको उजुरीमा उल्लेख गरेका छन् । उनले विद्यालयलाई जानकारी नै नगरी विद्यालयको स्वामित्वमा रहेको जग्गाभित्रको रुख कटान गर्ने राईलाई आवश्यक कानूनी कारबाही गर्न विद्यालय व्यवस्थापन समितिको वैशाख २३ गते बसेको बैठकको निर्णय, स्थलगत सर्जमिन मुचुल्कासहित उजुरी दिएका छन् ।
विद्यालयले जग्गामा रुख कटान गरेको जानकारी विद्यालयले पाएपछि छथरजोरपाटी गाउँपालिका वडा नं.३ का वडाध्यक्ष ज्ञानबहादुर लिम्बूको रोहवरमा सर्जमिन मुचुल्का उठाएको विद्यालयले जनाएको छ । सो क्रममा विव्यसका अध्यक्ष विष्णु पारघरे लिम्बू, विद्यालयका प्र.अ.धर्मराज थोक्लेन, सदस्यहरू शारदाप्रसाद दाहाल, योगेन्द्रबहादुर भट्टराई, रीता पौडेल  लगायत स्थानीयले स्थलगत रूपमा सर्जमिन मुचुल्का उठाएको विद्यालयले जनाएको छ । विद्यालयको नाममा रहेको जग्गामा रुख कटान गरी अवैध रूपमा चोरी निकासी भएको भन्ने खबर पाएपछि यही वैशाख २३ गते विव्यसको आकस्मिक बैठक बसी दोषीउपर कारबाहीको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको विव्यस अध्यक्ष विष्णु पारघरे लिम्बूले बताए ।
विद्यालयको नाममा रहेको जग्गामा भएको रुख काट्ने दिलबहादुर राईलाई आवश्यक कारबाही गर्न विद्यालयको तर्फबाट डिभिजन वन कार्यालय धनकुटा, छथरजोरपाटी गाउँपालिका कार्यालय धनकुटा, छथरजोरपाटी गा.पा.वडा नं.३ र ६ को वडा कार्यालयमा छुट्टाछुट्टै उजुरी दिएको विव्यस अध्यक्ष लिम्बूले बताए । यता उजुरीको विषयमा डिभिजन वन कार्यालय धनकुटाका सूचना अधिकारी एवम् प्रवक्ता पटकबहादुर थापा मगरले दिलबहादुर राईविरुद्ध रुख कटान गरेको विषयमा कार्यालयमा उजुरी परेको बताएका छन् ।
विद्यालयलाई जानकारी नै नदिई रुख काटिएको भन्ने उजुरी परेको अवस्थामा कार्यालयले स्थलगत रूपमा प्राविधिक लगेर मात्र के कति काटिएको हो, यकिन गरिने प्रवक्ता थापाले ब्लाष्टलाई बताए । उनले कार्यालयले व्यक्ति र संस्थाको नामको जग्गामा भएको विवाद जिल्ला प्रशासन कार्यालयले हेर्ने गरेको र सरकारी वन क्षेत्रको हो भने मात्र वन कार्यालयले मुद्दा चलाउने वा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने बताए । कार्यालयले रुख कटान गरिएको जग्गा पहिलो कुरो सरकारी वन क्षेत्रमा परेको छ वा छैन यकिन गर्ने गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउने प्रवक्ता थापाले जानकारी दिए ।
विद्यालयको जग्गामा रुख कटान गरी चोरी निकासी गरेको आरोप लागेका दिलबहादुर राईले भने आफ्नो तर्फबाट गल्ती भएको ब्लाष्टसँगको कुराकानीमा स्वीकारेका छन् । टेलिफोनमा राईले भने, ‘विद्यालय र मेरो जग्गा सँगै छ । मेरो जग्गाको रुख काट्न लगाउँदा विद्यालयको जग्गाको रुख पनि ठेकेदारले काटेछन् ।’
विद्यालयले १ सय ३३  थान रुख काटेको आरोप लगाए पनि आरोपित राईले भने ३५–३६ वटा मात्र रुख काटेको दाबी गरेका छन् । ‘मैले काटेको होइन, काम गर्नेले काटे नियतवश यसरी रुख काटेको होइन, गाउँघरमा समझदारीमा मिलौं भन्दा विद्यालयले मानेन’ राईले भने, ‘मेरो मान्छेले गल्ती ग¥यो, मलाई जहाँ लान्छौ, जे कारबाही गर्छौ, म भोग्न तयार छु ।’ उनले नापी कार्यालय धनकुटाबाट अमिन ल्याएर आ–आफ्नो कित्ता क्लियर गर्न पनि विद्यालयलाई आग्रह गरेको ब्लाष्टसँगको कुराकानीमा बताएका छन् ।
उता प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले चुलाचुली मा.वि.को नाममा रहेको जग्गामा भएको रुख कटानको विषयमा परेको उजुरीको बोधार्थ आफ्नो कार्यालयमा आएको बताए । प्रजिअ दाहालले उजुरीको विषयमा के कसो भएको हो ? भनी तत्काल बुझ्न डिभिजन वन कार्यालय धनकुटालाई लिखित रूपमा शुक्रवार नै पत्राचार गरेको बताए ।