भण्टाबारी । भोक्राहा नरसिंह गाउँपालिकाको भवन निर्माणमा कमसल सामग्री प्रयोग भइरहेको पाएपछि स्थानीयले निर्माणकार्य रोकेका छन् । कमसल सामग्रीको प्रयोग गरी गाउँपालिकाको भवन निर्माण कार्य भइरहेकोबारे पटक–पटक जनप्रतिनिधि, कर्मचारी र ठेकेदार कम्पनीलाई ध्यानाकर्षण गराउँदासमेत सुधार नआएपछि बाध्य भएर काम रोक्नुपर्ने अवस्था आएको स्थानीयले बताएका छन् । 

भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित १० कठ्ठा क्षेत्रफलमा अनुमानित ४ करोड लागतमा निर्माण भइरहेको गाउँपालिकाको भवन निर्माण कार्यमा कमसल सामग्री प्रयोग भएपछि तत्काल आफूहरूले काम रोकेको स्थानीय हाजी इसराइल मन्सुरीले जानकारी दिए ।

मन्सुरी स्थानीय तहको निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदवार हुन् । गाउँपालिका अध्यक्ष पदमा महेन्द्र यादवसँग झिनो मतले पराजित उनले भने, ‘हामीले धेरै मेहनत गरेर भवन निर्माणका लागि जग्गा उपलब्ध गरायौं । गाउँपालिका अध्यक्ष महेन्द्र यादवले सबैको सल्लाह, सुझावअनुरूप नै दुई महिनाअघि भवन निर्माण कार्यको शिलान्यास गर्नुभयो ।

तर, आज उहाँको अनुपस्थितिमा गाउँपालिकाको भवन निर्माणमा ठेकेदार कम्पनी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्राविधिकसँगै जनप्रतिनिधिसमेतको मिलेमतोमा कमसल सामग्री प्रयोग गर्दै भवन निर्माण भइरहेको छ ।’

गाउँपालिकाको भवन शिलान्यास भएपछि स्थानीयवासीले कमसल सामग्री प्रयोग भइरहेको गुनासो आफूसमक्ष गरेपछि भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ४ का वडाध्यक्ष हारुन अन्सारीलगायतका जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी र ठेकेदार कम्पनीको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि उनीहरूले एक पटक अनुगमनसमेत नगरेको उनले बताए । मन्सुरीले भने, ‘त्यसैले अन्य केही विकल्प नभएपछि स्थानीयले काम रोकेका हुन् ।’

सार्वजनिक सरोकारका काममा ठेकेदार कम्पनीले मनोमानी तरिकाले काम गरिरहेको भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ५ का स्थानीय हारुन मन्सुरीले बताए । उनका अनुसार निर्माण कार्यमा सिमेण्टको मात्रा एकदमै कम छ । उनी भन्छन्, ‘१५–१ को भागले सिमेण्ट दिएको पाइन्छ, इँटा पनि दुई नम्बरी प्रयोग गरिरहेका छन् ।’ आफ्नै गाउँपालिकाको भवन निर्माणमा काम योजनाअनुसार भइरहेको छ वा छैन ? कस्ताखाले निर्माण सामग्री प्रयोग भइरहेको छ ? कहीँ ठेकेदार कम्पनी वा कामदारले लापरबाही गरेका छन् कि ? भन्ने अनुगमन गर्ने दायित्व जनप्रतिनिधि र गाउँपालिकाका प्राविधिकको भए पनि उनीहरू यसबारे बेखबरजस्तै बनेको हाजी इसराइल मन्सुरीको कथन छ ।

भोक्राहा नरसिंह गाउँपालिकामा व्यापक भ्रष्टाचार बढेको सन्दर्भमा गाउँपालिकाकै भवन निर्माण कार्यमा यस्तो मनोमानी अब चल्न नदिने स्थानीयको भनाइ छ । अरू कुनै विकल्प नभएपछि काम रोकेको बताउँदै उनले भने, ‘स्टिमेटअनुसार काम गर्न ठेकेदार कम्पनी राजी भएमा स्थानीयले समेत उक्त काममा सक्दो सहयोग गर्छन् ।’ 

गाउँपालिकाकै भवन निर्माणमा कमसल सामग्री प्रयोग भएपछि आफूहरू चिन्तित बनेको उनीहरूको भनाइ छ । ‘कर्मचारी र ठेकेदार आज यहाँ छन्, भोलि कहाँ जान्छन् थाहा छैन, उनीहरूलाई आफ्नो फाइदासँग मात्र सरोकार छ । तर, हामीले नै जिताएका जनप्रतिनिधिले नै हाम्रो कुरा नसुन्दा निराश भएका हौं’–मन्सुरीले भने । गाउँपालिकाको भवन निर्माण कार्यमा कमसल सामग्री प्रयोग भएको स्वीकार्दै ठेकेदार कम्पनी आशिर्वाद कन्स्ट्रक्सन प्रालिका प्राविधिक सरोज रायले अबदेखि  सुधार गर्दै लाने दाबी गरे ।

काम गर्दै जाँदा त्रुटि भएको बताउँदै उनले यसलाई आगामी दिनमा सुधार गर्दै योजनाअनुसार नै काम गर्ने बताए । यता भोक्राहा नरसिंह गाउँपालिकाका प्राविधिक आशिष निखिल साहले समेत गाउँपालिकाको भवन निर्माण कार्यमा कमसल सामग्री प्रयोग भएको स्वीकार्दै स्थानीयवासीले ध्यानाकर्षण गराएपश्चात् ठेकेदार कम्पनीले थप जिम्मेवार भएर काम गर्ने विश्वास व्यक्त गरे ।

bhantabari1