भद्रपुर । झापा मेचीनगर १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा लागेको भीषण आगलागी ३६ घण्टा वितिसक्दा पनि अझै नियन्त्रणमा आइसकेको छैन । सोमबार बिहान ३ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीबाट एउटा पुरै युनिट जलेर नष्ट भइसकेको प्रहरीको भनाइ छ । आगलागीबाट फ्याक्ट्री , त्यहाँ रहेको मेशिन , ट्रयाक्टर , जेसीबी , कच्चा पदार्थ , तयारी कोइलालगायतका वस्तु जलेर नष्ट भएको संचालक आदित्य पराजुलीले बताए । आगलागीबाट ब्रिकेट बनाउन स्टक राखिएको ५० लाख केजी कच्चा पदार्थ जलेर नष्ट भएको उनले जानकारी दिए । आगलागी २० प्रतिशत मात्र नियन्त्रणमा आएको उनले जानकारी दिए ।

आगलागीमा ७ वटा दमकल प्रयोग गरिरहेपनि मङ्गलबारबाट ३ वटा दमकल प्रयोग गरिरहेको उनले  बताए । हालसम्म १० देखि १२ करोड रुपैयाँ क्षति भएको उनले अनुमान लगाएका  छन् । उद्योगमा बिद्युत सर्ट भई या मेसिन बढी तातेर आगलागी भएको उनले  अनुमान गरेका छन् । 

स्थानीय,सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा ५५ प्रतिशत मात्र आगो नियन्त्रणमा आएको जिल्लाका डिएसपी राकेश थापाले बताए । निलकोठी भन्ने ठाउँमा रहेको ब्रिकेट फ्याक्ट्रीमा लागेको आगोबाट क्षतिको विवरण अनुमान गर्न नसकिएको उनको भनाइ छ । विवरणको विषयमा सञ्चालकलाइ नै जानकारी हुने उनको भनाइ छ । 

उद्योगी चण्डी पराजुली र उनका छोरा आदित्य पराजुलीले सञ्चालन गरेको सो। करिव तीन वर्षअघि सो फ्याक्ट्री स्थापना गरिएको हो । फ्याक्ट्री डेढ विगाह क्षेत्रफलमा फैलिएको छ ।