धरमपुर/झापाको शिवसताक्षी नगरपालिका १ नम्बर वडाको निर्माणाधीन कार्यालय भवन सामान्य भूकम्पमै चर्किएको छ ।

कमसल सामग्रीको प्रयोगका कारण सामान्य भूकम्प आउँदा नै भवनको अधिकांश भाग चर्किएको स्थानीयवासीले बताए । भवनमा सातवटा कोठा छन् । ती सबै कोठाको पर्खाल ठाडो, तेर्सो गरी विभिन्न भागमा चर्किएका हुन् । बुधबार भारतको आसामलाई केन्द्र बनाएर आएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प आएको थियो ।

उक्त भूकम्प झापासहित नेपालका पूर्वी जिल्लामा सामान्य अनुभव मात्रै गरिएको थियो । चर्किएको भागमा निर्माण कम्पनीले तत्कालै मिस्त्री लगाएर प्लस्टर गर्ने काम गरिरहेको पाइएको छ । २०७२ सालपछिको विनासकारी भूकम्पपछि निर्माण गरिने भवनहरू भूकम्प प्रतिरोधी हुनुपर्ने प्रावधान छ । तर, वडा कार्यालयको भवन निर्माणाधीन अवस्थामै चर्किनुले गम्भीर प्रश्न उब्जाएको छ । 

स्थानीयका अनुसार कमसल सामग्रीको प्रयोगका कारण चर्किएको दाबी गरेका छन् । उनीहरूले निर्माण कम्पनीलाई कारबाही गरी कालो सूचीमा राख्नुपर्ने माग गरेका छन् । भवन निर्माणको ठेक्का सतासी निर्माण सेवालाई दिइएको थियो । निर्माण सेवाका सञ्चालक लोकेन्द्र श्रेष्ठले भूकम्पका कारण नचर्किएको दाबी गरे । उनले संरचना निर्माण गर्नेक्रममा सिमेन्ट तथा केमिकलको मात्रा नमिलेर चर्किएको हुनसक्ने बताए ।

उनले भने, ‘बाहिरको प्लस्टर मात्रै चर्किएकाले भित्रीरूपमा यसले कुनै असर गर्दैन, आवश्यक परे प्लस्टर फोडेर पुनः निर्माण गर्छौं ।’ सामान्यतः पर्खाल निर्माण गर्दा सिमेन्ट, बालुवा मात्रै प्रयोग गरिने गरिएको छ । 

शिवसताक्षी नगरपालिकाका इञ्जिनियर कृष्ण राईले उल्टै ठेकेदार कम्पनीको बचाउँ गर्दै भने, ‘सोलिङ गर्ने क्रममा गल्ती हुँदा भित्ता चर्किन सक्छ ।’ उनले कामै नलाग्ने गरी चर्किएको भए पुनः निर्माण गर्न निर्देशन दिइने बताए । ‘नगरपालिकाले अनुगमन गर्दा उचित ठहरिए मात्रै यो योजनाको भुक्तानी हुनेछ’ इञ्जिनियर राईले भने ।

१ नम्बरका वडाध्यक्ष सुवास राईले प्राविधिक विषय भएकाले यसको जवाफ नगर र नगरको प्राविधिकले दिनुपर्ने भन्दै पन्छिए । यता नगर प्रमुख चन्द्रकुमार शेर्माले आफूलाई यसबारे जानकारी नभएकाले स्थलगत निरीक्षणपछि मात्रै कारबाही अगाडि बढाउने दाबी गरे । ९९ लाख रुपैयाँको लागतमा भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागि एक वर्षअघि ठेकेदार कम्पनीसँग २०७७ वैशाखमा सम्झौता भई सोहि आर्थिक वर्षको असार मसान्तमा सम्पन्न गर्नु पर्ने समयावधि छ । डेढ तले भवनको हाल एक तला मात्र निर्माण गरिएको छ ।

स्थानीय पत्रकार सेलिङ केसीको सहयोगमा