भद्रपुर । झापामा सोमबार राति चट्याङले लागेर प्रहरी सहायक निरीक्षक(असइ)को मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय झापाले  जनाएको छ । 

राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्लाका डिएसपी राकेश थापाले बताए ।

चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको ओमसाइ पाथीभरा हस्पिटल ल्याएपनि उनलाई तत्कालै चिकित्सकले मृत घोषित गरेको थापाले  जनाए ।

गस्तीमा उनीसहित दुईजना निस्केका थिए । सँगैरहेका प्रहरी हवल्दार सकुशल रहेका बताइएको छ । मृतक ठाकुर सो चौकीका प्रमुख थिए ।