भण्टाबारी । कोरोना सङ्क्रमित व्यक्ति सङ्ख्या बढेपछि सुनसरी प्रशासनले लगाएको निषेधाज्ञा जनप्रतिनिधिले उल्लङ्घन गरेको पाइएको छ । सभा, सम्मेलन नगर्न सुनसरी प्रशासनले गरेको आग्रह विपरीत भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका जनप्रतिनिधिले उल्लङ्घन गरेको पाइएको हो ।
नयाँ भेरिएण्टको कोभिड–१९ फैलिने क्रम तीव्र भएपछि सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी शुक्रबारदेखि लागू हुने गरी सुनसरी प्रशासनले २४ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लागू गरेको हो ।
तर, सो निषेधाज्ञाको उल्लङ्घन गर्दै भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनमकुमारी मेहताको प्रमुख आतिथ्यमा लोटस होटेलमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना अभिवृद्धि कार्यक्रम शनिबार आयोजना गरिएको पाइएको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम ग्रामीण बहुउद्देश्यीय व्यवस्थापन तथा सहकार्य केन्द्र लौकही सुनसरीले आयोजना गरेको थियो । सुनसरी प्रशासनले शुक्रबारबाट निषेधाज्ञा लागू गर्दै भीडभाड नगर्न गरेको आग्रह विपरीत सो कार्यक्रममा दर्जनौं व्यक्तिको सहभागिता रहेको थियो ।
भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा समेत कोरोना सङ्क्रमित भेटिएपछि उपचाररत रहेको अवस्थामा गाउँपालिकाका जनप्रतिनिधिले स्थानीय प्रशासनको निर्णय उल्लङ्घन गरेकाले कानूनबमोजिम कारबाही गर्न स्थानीयले माग गरेका छन् ।
वैशाख १६ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को जोखिमका कारण जिल्लामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, मनोरञ्जन स्थल, समूहमा खेलिने खेलकुदका साथै विद्यालयको पठन–पाठन बन्द गर्ने निर्णय गरेको थियो ।
सर्वसाधारण नागरिकदेखि सबैलाई स्वास्थ्य प्रोटोकल पालना गर्न आग्रह गर्दै उक्त बैठकले आदेशको पालना नगर्नेलाई कानूनअनुसार कारबाही गर्ने उल्लेख गरिएको थियो । यसबारे प्रतिक्रिया लिन भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्षलाई पटक–पटक फोन सम्पर्क गरे पनि उनको फोन उठेन ।