पथरीशनिश्चरे । प्राकृतिक सुन्दरताले भरिपूर्ण मोरङको पथरी शनिश्चरे नगरले आफूलाई विकासको गतिमा पनि अघि बढाउँदै आफ्नो चिनारी विस्तार गर्दै लगेको छ ।

स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरूको अगुवाइमा विकास निर्माणले गति लिएर नगरलाई सहरोन्मुख नगरका रूपमा विकसित गर्दै लगेको छ । खास गरी भौतिक विकासका क्षेत्रमा प्रष्ट देखिने प्रकारका निर्माण कार्य भएका छन् । चेतनाको क्षेत्रमा पनि प्रशस्त कार्यक्रम भएका र तिनीहरू प्रतिफलउन्मुख छन्  ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछिको साढे ३ वर्षमा नगरमा भौतिक विकासले गति लिएको छ । त्यस अवधिमा ३० किलोमिटर हाराहारी सडक कालोपत्रे भएको छ ।

नगरपालिकाको बजेटमा र नगरको पहलमा प्रदेश र सङ्घीय सरकारमार्फत् समेत नगरमा विकासका ठूला योजनाहरू सञ्चालन हुन पुगेको प्रसङ्ग सहित नगर प्रमुख दिलिपकुमार राई भन्छन्, ‘विगत २० वर्षको अवधिमा भन्दा हामीले साढे ३ वर्षको अवधिमा नगरवासीको सहकार्यमा धेरै गुणा बढी काम गर्न सकेका छौं । भौतिक विकासको क्षेत्रमा भएको यो विकाससँगै अब चेतनाको क्षेत्रमा पनि उसैगरी रफ्तार बढाउँदै जानु पर्नेछ ।’

पूर्व–पश्चिम मुख्य सडकबाट सुनवर्षी हुँदै रङ्गेली सडकमा जोडिने र पथरी शनिश्चरे नगरका लागि समेत सङ्घीय सरकारको हालसम्मकै ठूलो योजनाका रूपमा मनमोहन गान्धी मार्ग सडक निर्माण कार्य भइरहेको छ । सङ्घीय सरकारमार्फत् १ अर्ब ९४ करोड ९४ लाखमा ठेक्का लागि ड्रेनको काम अघि बढेको छ ।  ६० फिट फराकिलो सडक विस्तार भइरहेको छ ।

सङ्घीय सरकारको १८ करोड ६८ लाख २ हजार रुपैयाँको बजेट अन्तर्गत वडा नम्बर २ मा नगर अस्पतालको भवन निर्माणको क्रममा छ । शरणार्थी सम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा ८० लाखको बजेटमा त्यहाँ अर्काे भवन निर्माण सम्पन्न हुने चरणमा छ । वडा नम्बर १० स्थित भूटानी शरणार्थी रहेको क्षेत्रमा नगरको सिफारिसमा प्रदेश सरकारले गौरवको आयोजना अन्तर्गत जातीय पहिचानसहितको सांस्कृतिक सङ्ग्रहालय निर्माणको योजना अघि बढाएको छ ।

वडा नम्बर १ को पञ्चायत माविमा सङ्घीय सरकारको ८ करोड बजेटमा अपाङ्गता भएका विद्यार्थीहरूका लागि आवाससहितको भवनको काम सुरु भएको छ । अझ त्यहाँ त विद्यालय, नगरपालिका र एभरेष्ट आर्ट फ्युजनको पहलमा १ नम्बर प्रदेशमै पहिलो पटक कक्षा ११ र १२ मा ललितकला विषयको अध्यापन सुरु गरेर फरक र नमुना काम भएको छ ।

सङ्घीय सरकारकै ४ करोड हाराहारीको बजेटमा वडानम्बर ८ को बुद्ध माविको भवन निर्माण र डोलिडार प्रोजेक्ट अन्तर्गत ४ करोड हाराहारीको लागतमा वडानम्बर ५ को सुन्दरीचोकबाट सोही वडाको मौलीवारी जोड्न बक्राहा खोलामा झोलुङ्ले पुल सर्भे भएर पाइपिङको काम अघि बढेको छ । डाँस र बक्राहा खोला तटबन्धमा चालु आर्थिक वर्षमा सङ्घीय सरकारको १ करोड २५ लाख रकम विनियोजन भई सर्भे सम्पन्न भई काम अघि बढेको छ ।

सङ्घीय सरकारको खरको छाना हटाउने अभियान अन्तर्गत नगरमा २ करोड ३५ लाखको बजेटमा ४ सय ७१ घरलाई टिनको छानो लगाउने कार्यक्रम सुरु हुने चरणमा छ । युएनएचसीआरमार्फत् १ करोड ३८ लाख ९६ हजारमा वडानम्बर ४, ९ र १० मा कृषि तथा पशुपालन परियोजना थालिएको छ । जहाँ भूटानी शरणार्थी र शरणार्थी प्रभावित बस्तीका व्यक्तिहरूका हालसम्म साढे ८ बिगाहा जग्गा भाडामा लिएर बाख्रा, बङ्गुर, कुखुरा पालन, च्याउ खेतीसहितका काम अघि बढेको छ ।

सङ्घीय सरकारमार्फत् १ करोडको बजेटमा १० नम्बर वडाको श्रीजङ्गा धार्मिक वनमा पर्यटकीयस्थलको योजना यो वर्ष अघि बढेको छ । यसअघि त्यहाँ सङ्घ र प्रदेशबाट गरी पोखरी निर्माणसहितका कार्यक्रम अघि बढेका थिए । नगर ‘वन तथा सिमसारयुक्त पर्यटकीय नगरी’ का रूपमा आफ्नो फरक पहिचान बनाउने क्रममा निरन्तर लागिरहेको छ । जस अन्तर्गत हालसम्म १ दर्जन सिमसार मर्मत भएका छन् र अब १ दर्जन सिमसार क्षेत्र निर्माणको क्रममा छ । नगरले पनि वन तथा सिमसारयुक्त पर्यटन प्रवद्र्धनका लागि साझेदारीमा बर्सेनि रकम छुट्याएको छ ।

अघिल्लो वर्ष २५ लाख र चालु वर्षमा ३० लाख विनियोजन गरेको छ । नगरको प्रमुख पर्यटकीयस्थलका रूपमा विकास भएको १ नम्बर वडाको शान्ति सामुदायिक वनभित्रको शान्ति भुल्के सिमसारमा नगरपालिकाका साथै सङ्घ र प्रदेश सरकार, वन कार्यालयको योजनामा पर्यटकीयस्थल निर्माणको काम सञ्चालनमा छ । नेपालकै उत्कृष्ट बनेको २ नम्बरको हरियाली सामुदायिक वनमा पनि उसैगरी पोखरी निर्माणसहितको योजना अघि बढेको र प्रदेशकै नमूना पर्यटकीयस्थल निर्माणको डीपीआर बनेको छ ।

कम्पनीका रूपमा खुला गरेको शेयरमा १० प्रतिशत नगरपालिकाले प्रदान गर्ने गरी २० करोडको योजना बनेको छ । पछिल्लो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पर्यटन प्रवद्र्धनका लागि सो वन समूहका लागि सरकारले २ करोड ७० लाख र स्थानीय तहले १ करोड ४६ लाख गरी ४ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै सोही मन्त्रालयले नगरको वडानम्बर १ स्थित यलम्बर चोकमा ऐतिहासिक व्यक्तित्व यलम्बरको प्रतिमा निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै अर्काे ऐतिहासिक काम नगरपालिकाको सहयोगमा मनकामना सामुदायिक वन क्षेत्रभित्र सहकारी कर्मचारी सङ्गठनमार्फत् नेपालका सहकारी प्रवद्र्धक बखानसिंह गुरुङको नेपालमै पहिलो प्रतिमा निर्माण गरी अनावरण भएको छ । ‘प्राकृतिक हिसाबले ज्यादै सुन्दर नगरमा यही सुन्दरता र सृजनशीलताले देश विदेशमा आफूलाई चिनाउने हामीले यस प्रकारका नमुना काम अझै धेरै गर्दै जाने सोच बनाएका छौं । यसमा सबै पक्षको तारतम्य मिल्नु चाहिँ आवश्यक हुन्छ’–नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले धारणा सुनाइन् । 

सङ्घीय सरकारमार्फत् वडानम्बर २, ३, ७, ८ र ९ मा वडा कार्यालय भवन निर्माण भइरहेको छ । त्यस्तै वडानम्बर ३, ६ र ७ मा आधारभूत स्वास्थ्य केन्द्र भवन सम्पन्न भएको तथा १, ४ र १० को अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले वडानम्बर १ को नगरको जग्गामा सपिङ कम्प्लेक्सका लागि नगर विकास कोषसँगको ऋण साझेदारी रहने गरी २० करोड बराबरको डीपीआर बनाएको छ । 

नगरपालिकाले आफ्नो क्रमागत योजनाका रूपमा राखेको रजत जयन्ती मार्ग, दोहोलु शुक्रबारे सडक र बुद्धमार्ग कालोपत्रे कार्य निरन्तर अघि बढाइरहेको छ । रजतजयन्तीका लागि चालु आर्थिक वर्षमा विनियोजित १ करोड २५ लाखबाट १ किलोमिटर ७ सय मिटर सडक कालोपत्रे ठेक्का लागेको छ । दोहोलु शुक्रबारेका लागि १ करोड ७५ लाखमा ३ किलोमिटर ४ सय मिटर सडक कालोपत्रे बनेको छ ।

बुद्धमार्ग अन्तर्गत कीर्तिपुरमा,  सङ्घीय सरकारको समपूरक अनुदान र नगरको गरी ३ करोड ५९ लाख ६५ हजार २ सय ४२ रुपैयाँ ४ पैसाको ठेक्कामा हिमतारा निर्माण सेवाले २ किलोमिटर ७ सय मिटर लम्बाइको सडकमा अक्सपाल्ड प्रविधिको कालोपत्रे गरेको छ । दर्जनौं पुल, कल्भर्ट निर्माण भएका छन् । पथरी शनिश्चरे र कानेपोखरी जोड्न डाँस खोलामा पुल बनिरहेको छ ।

प्रदेश सरकारको ५० लाखको लगानीमा वडा नम्बर १० को शिवालय मन्दिर दक्षिणको ५ सय ५० मिटर कालोपत्रे सडक निर्माण भएको छ । नगरको बजेटमा वडानम्बर १ को जाँतेमोडबाट भुल्के जोड्ने कालोपत्रे सडक निर्माण भएको छ । 

सांसद् भानुभक्त ढकालमार्फत्को सांसद् विकास कोषबाट ६५ लाखको लागतमा १ नम्बरको पथरी बहुमुखी क्याम्पसको माथिल्लो तला थप्ने काम भएको छ । सोही कोषबाट वडा नम्बर २ को सेल्फीरोड कालोपत्रे समेत भएको थियो । त्यहाँको सडक कालोपत्रे बनेपछि चौतारी सामुदायिक वनले सेल्फी रोडलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आकर्षणका लागि सुन्दरताका पक्षमा केही निर्माण कार्य अघि बढाएको छ ।

pathari-bazar

pathari-camps1