इटहरी। इटहरी आसपासमा दिनभरि विद्युत् आउँछ, तर भोल्टेज नआउँदा सर्वसाधारणहरूले हैरानी बेहोर्नु परेको छ । पूर्वी तराईक्षेत्रमा प्रचण्ड गर्र्मीमा बत्तीसमेत राम्ररी नबल्ने गरी भोल्टेज आउने गरेको छ । तरहरा क्षेत्रमा पङ्खा, फ्रिज तथा एसी चल्न सकेका छैनन् । सहरी क्षेत्रमा कम भोल्टेजले गर्दा गर्मीयाममा सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो ।
तराईमा गर्मी बढेसँगै विद्युत्को माग बढेको तर, त्यही क्षेत्रमा भोल्टेजको समस्या बढेको सर्वसाधारणले बताएका छन् । बिहानैदेखि टण्टलापुर घाम लाग्ने र तातो हावा चल्ने गरेको छ । कम भोल्टेजको कारण पङ्खा, एसी, मोटर, फ्रिजजस्ता विद्युतीय उपकरण नचल्ने, बत्ती पनि मधुरो बल्ने गरेको तरहराका स्थानीय राजेश बन बताउँछन् ।
‘दिनभरि अत्यधिक गर्मी हुन्छ तर, पङ्खासमेत नचल्दा साह्रै समस्या भइरहेको छ’ –बन भन्छन् । गर्मीयाम बढेसँगै विद्युत् अपडाउन हुँदा सर्वसाधारणले हैरानी बेहोर्नु परेको छ ।
बिजुली जाँदै आउँदै गर्दा सर्वसाधारणहरू समस्यामा परेका छन् । एकदमै कम भोल्टेज आउने र पटक–पटक अपडाउनको समस्याले गर्र्मीमा सबैभन्दा समस्या हुने गरेको इटहरी–१९ की सरिता गुरुङले बताइन् । ‘घरको फ्रिज तीन दिनदेखि भोल्टेज समस्याले चलेको छैन’ उनले भनिन्, ‘बेलुका अत्यधिक गर्मी भए पनि पङ्खा नै घुम्दैन ।’
विगतका वर्षहरूमाजस्तो विद्युत् आपूर्तिमा समस्या देखिएको छैन । तर, लाइन आउने जाने समस्या भने बढी रहेको सर्वसाधारण बताउँछन् । आपूर्तिमा देखिएको समस्या सुल्झिँदा भोल्टेजमा विगतको तुलनामा बढी समस्या देखिएको छ ।
‘पङ्खा घुम्छ तर, हावा दिँदैन’ इटहरी–१९ कै भूपू लाहुरे दिलप्रसाद राईले भने, ‘दुई दिनसम्म त फ्रिज पनि चलेन । पङ्खाको घुमाइ भनिसाध्य छैन । बत्तीको महसुल बढाउनु बाहेक प्राधिकरणले अरू केही काम गरेको छैन ।’
‘कम विद्युत् भोल्टेजले एकातिर विद्युतीय उपकरण बिग्रने समस्या छ भने अर्कातर्फ अत्यधिक गर्मीले सास्ती भोग्नुपर्ने अवस्था छ’ इटहरी–२० का व्यवसायी मदन बस्नेतले भने, ‘विद्युत्को समस्या साह्रै धेरै भयो, लाइन अपडाउन भइरहेको हुँदा अत्यन्तै समस्या भइरहेकोले यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्ने देखिन्छ, भोल्टेजको अपडाउनलेकम्प्युटरहरूसमेत बिग्रने गरेको छ ।’ भारतबाट आयातित विद्युत् आपूर्ति गर्नुपर्दा गर्मीमा भोल्टेजको समस्या देखिएको प्राधिकरणले जनाएको छ ।
भारतबाट आउने विद्युत्मा १३२ केभी भोल्टेज आउनुपर्ने भए पनि अहिले १२५–१२६ केभी भोल्टेज मात्र आउँदा समस्या भएको विद्युत् प्राधिकरण इटहरीका सुपरभाइजर रितेश झाले जनाए । भारतबाट आउने भोल्टेज नै कम भएको कारण अहिले भोल्टेज अपडाउनको समस्या भइरहेको उनी बताउँछन् ।