पथरीशनिश्चरे । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर मोरङको पथरी शनिश्चरे नगरमा विद्यार्थीबीच हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगरपालिकाका शिक्षा अधिकृत नवीन खुलाल बुढाथोकीले नगरपालिकाले गर्नुपर्ने हस्तलेखन सहितका सृजनशील कार्यक्रम एकजना व्यक्तिको पहलमा सञ्चालन भइरहेकोप्रति खुसी व्यक्त गरेका छन् । उनले नगरको सृजनशील चिनारीका लागि यसखाले कार्यक्रम प्रभावकारी भएको जनाए ।

वडा नम्बर ३ का पूर्व शिक्षक भूवनेश्वर पोखरेलले विगत ४ वर्षदेखि सञ्चालन गर्दै आउनु भएको हस्तलेखन प्रतियोगिताको पछिल्लो चरणमा सामुदायिक विद्यालयका ४५ र संस्थागतका २८ गरी ७३ विद्यार्थी सामेल थिए ।

जसमा, सामुदायिकतर्फ चन्द्रकिरातेश्वर माविकी सिम्रिका सुनुवार प्रथम, वालकल्याण माविकी उपसा खतिवडा द्वितीय, पञ्चायत माविकी अमृता धिमाल तृतीय र सरस्वती आधारभूत विद्यालय बोक्रेचोकका विज्ञान श्रेष्ठ सान्त्वना भएका छन् ।

संस्थागततर्फ, रेडस्टारका प्रत्युस निरौला प्रथम, बाल्मिकीका दिपेश तामाङ द्वितीय, रेडस्टारकी दिलासा तिम्सिना तृतीय र भूपु सैनिककी रोजिना जोगी सान्त्वना भएकी छन् ।

कार्यक्रममा, नेपाली र अंग्रेजी दुवै भाषाको हस्तलेखन प्रतियोगितालाई प्रोत्साहित गराउने शिक्षकहरु शम्भूराज घिमिरे ‘सोल्टी’, शम्भूराज थापा र हर्कराज जिमीलाई पनि सम्मानित गरिएको छ ।

हस्तलेखन प्रतियोगिताको अभियन्ता पोखरेलले उत्साहि साना किसान सहकारी संस्थामा १ लाख ६८ हजार रुपैयाँ अक्षयकोष खडा गरेपछि त्यसको ब्याजबाट पुरस्कृतलाई नगद सहित स्टेशनरी सामग्री प्रदान गरिएको छ । कार्यक्रम उत्साहि साना किसान सहकारी संस्थाले आयोजना गरेको थियो ।