धरान। धरानमा बिहीबारबाट पूर्णरूपमा सामुदायिक, निजी तथा संस्थागत विद्यालयहरू बन्द गरिने भएको छ । 

मङ्गलबार धरान उपमहानगरमा सरोकारवालासँगको बैठकमा बिहीबारबाट स्कुल बन्द गर्दै वैशाख १४ गतेबाट वार्षिक परीक्षा गरिने निर्णय गरिएको हो ।

धरान उपमहानगरका शिक्षा महाशाखाका प्रमुख रत्न कट्वालले बिहीबारदेखि पूर्णरूपमा स्कुलहरू बन्द गर्ने निर्णय भएको बताए । उनले भने, ‘वार्षिक परीक्षा १४ गतेदेखि २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्णय भएको छ ।’ 

सरकारले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को प्रस्तावअनुसार देशका प्रमुख सहरका स्कुलहरू बन्द गर्न निर्देशन दिएको थियो । तर, सुनसरीका विद्यालयहरू भने खुल्ला रहेका थिए ।

त्यस क्रममा धरान उपमहानगरपालिकामा सरोकारवालाहरू बैठक बस्दै बिहीबारबाट बन्द गर्ने निर्णय भएको एसीसीका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए । धरानमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार धरानमा ७ जनामा कोरोना देखिएको हो । 

तर, स्कुलहरू बन्द नहुँदा थप जोखिम हुने सम्भावना बढेकाले पनि सरकारको निर्णयलाई कार्यान्वयन गर्न बैठक बसेर निर्णय गरिएको एसीसीका संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार २४ गतेभित्र वार्षिक परीक्षा पनि सम्पन्न गर्ने निर्णय भएको छ ।

बैठकमा धरान उपमहानगरका प्रमुख तिलक राई, प्याब्सनका नगर अध्यक्ष राजकुमार लिम्बू, एनप्याब्सनका नगर अध्यक्ष भगत लिम्बू, पब्लिक हाईस्कुलका प्रधानाध्यापक इन्द्रमोहन झा, सहिदस्मृति स्कुलका प्रधानाध्यापक राम विष्टलगायत छलफलमा बसेका थिए ।