गोर्खा भर्तीका विसङ्गतिबारे समाचार लेख्ने पत्रकारहरुलाई धरानमा सम्मान गरिएको छ । 

वीर गोर्खा पत्रकारिता र नवप्रतिभा पत्रकारिता पुरस्कार धरानका तीन सञ्चारकर्मीलाई प्रदान गरिएको छ । 

वरिष्ठ पत्रकार हर्ष सुब्बा वीर गोर्खा पत्रकारिता पुरस्कारसहित नगद २५ हजारले सम्मानित र पुरस्कृत भए । उनलाई धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले सम्मान पुरस्कार हस्तान्तरण गरे । यस्तै धरानबाट प्रकाशित दिव्यरोशनी साप्ताहिककी प्रकाशक, सम्पादक मनिता चाम्लिङ पनि सोही पुरस्कार वीर गोर्खा पत्रकारिताबाट सम्मानित भइन् । उनले नगद २५ हजार प्राप्त गरिन् । 

गोर्खा भर्ती लगाइदिने भन्दै सोझा साझा युवाहरुलाई ठगी गर्नेका विरुद्ध कलम चलाउने, ब्रिटिस आर्मी र सिंगापुर पुलिसको निःशुल्क, निष्पक्ष र पारदर्शी छनौट प्रक्रियाबारे कलम चलाउने पत्रकारहरुलाई पुरस्कार दिइने पुरस्कार संस्थापक गोर्खा कम्पनी ट्रेनिङ सेन्टरका सञ्चालक प्रेम मुकारुङ राईले बताए । 

गोर्खाको इतिहास, वर्तमान, देश निर्माणमा गोर्खाहरुले पुर्याएको योगदान र गोर्खाहरुको सामाजिक क्षेत्रमा सक्रियतालाई उजागर गर्न कलम चलाउने पत्रकारहरुलाई सम्मान स्वरुप पुरस्कार दिइएको हो । 

यस्तै नवप्रतिभा पत्रकारिता पुरस्कार धरानकै सञ्चारकर्मी सञ्चिता धमलालाई प्रदान गरिएको छ । 

धरान १८ स्थित ट्रेनिङ सेन्टरले प्रेस युनियन धरानसँगको सहकार्यमा सम्मान पुरस्कार प्रदान गरेको हो । 

ब्रिटिश आर्मी र सिंगापुर पुलिसको भर्तीका लागि छनोट हुने बेला ठूलो आर्थिक चलखेल हुने गरेको गुनासो छ । भर्ती गराइदिने नाममा खुलेका यस्ता ट्रेनिङ सेन्टरहरुले आफ्ना प्रशिक्षार्थीलाई भर्ती गराइदिने भन्दै लाखौंको बार्गेनिङ गर्ने गरेको र भर्ती लागिसके पछि उनीहरुका अभिभावकबाट पनि रकम असुल्ने गरेको बताइन्छ । तर, यस्ता ठगीबारे बाहिर सप्रमाण समाचार भने प्रकाशित हुँदैनन् । 

आफैं पनि पूर्व गोर्खा सेना रहेका गोर्खा कम्पनी ट्रेनिङ सेन्टरका सञ्चालक प्रेम मुकारुङ ठगीको विषयलाई ‘ओपन सेक्रेट’ भन्छन् । दलालको हातबाट सोझा युवालाई जोगाउने मिसनका रुपमा ट्रेनिङ सेन्टर सञ्चालन गरेको सञ्चालक प्रेमको भनाइ छ ।