देशमा दौडिएर राज्यसत्ता प्राप्त गर्ने कुरो त किम्वदन्ती जस्तै बन्यो । तर देशमै दौडिएर विदेशमा भविष्य खोज्नेहरु आज पनि दौडिरहेका छन् । धरानका सडकमा साँझ बिहान सयौं युवा ‘लाहुरे’ बन्ने दौडमा छन् । ती युवालाई सपना देखाइरहेका छन्, यहाँ सञ्चालित ‘ट्रेनिङ सेन्टरहरुले ।’ 

‘ट्रेनिङ सेन्टर’ हरुले लाहुरेको सपना देखाएर अवैध रकम असुल्ने गरेको गुनासो सञ्चार माध्यममा बेलाबेला आउने गरेको छ । ‘लाहुरे’ लागिसकेपछि पनि ‘ट्रेनिङ सेन्टर’ सँग लेनदेनको अवैध सम्झौता गर्नुपर्ने बाध्यता युवाहरुमा छ । यीे विषय पनि बाहिर आउने गरेकै छन् । 

यही ‘दौडिरहनेहरुको शहर धरान’ मा फेरि अर्को विवाद अगाडि आएको छ । 

लाहुरे बन्ने सपनामा तालिम गरिरहेका युवाहरु ट्रेनिङ सेन्टरबाटै अयोग्य भएर निष्काशित भएपछि त्यहाँभित्रका कर्तुतहरु बाहिर निस्कन थालेका छन् । 

बेलायत, सिंगापुर, भारत र नेपालका सेनामा भर्ती हुन योग्य बनाउने उद्देश्यअनुसार धरानमा सञ्चालित केही तालिम सेन्टरहरुले एसोसियसनका नाममा सिण्डिकेट कायम राखेको गुनासो आउन थालेको छ । 

धरान १८ मा झण्डै १ वर्षदेखि सञ्चालित ‘गोर्खा कम्पनी ट्रेनिङ सेन्टर’ ले चार जना विद्यार्थीलाई अनुशासनको कारबाही गरी निस्काशन गरेपछि उत्पन्न विवादले त्यस्ता तालिम सेन्टरको वैधानिकता र सिण्डिकेटमाथि प्रश्न उठेको छ ।    

लाहुरे बन्ने सपना देखेका युवा अनुशासनको कारबाहीमा परेर फालिएपछि उनीहरुले नेपाल फिजिकल ट्रेनिङ एसोसियसनसँग आबद्ध तालिम सेन्टरमा हारगुहार गरेका छन् । केही  युवा अन्यायमा परेको भन्दै सञ्चारमाध्यममा पुगेका छन् । ती युवाले आफूहरुलाई बढी शुल्क लिएर ‘गोर्खा कम्पनी ट्रेनिङ सेन्टर’ ले निष्काशन गरेको गुनासो गरेका छन् ।

‘गोर्खा कम्पनी ट्रेनिङ सेन्टर’ ले भने नेपाल सरकारको नियमअनुसार कम्पनी दर्ता गरी प्रशिक्षण केन्द्र सञ्चालन गरेकाले विद्यार्थीलाई कुनै पनि अन्याय नगरेको र नियमअनुसार कारबाही गरेको स्पष्ट पारेको छ । अनुशासनको कारबाहीमा परी निष्काशित विद्यार्थीको एक पक्षीय कुरा सुनेर एउटा टेलिभिजनमा ‘गोर्खा कम्पनी ट्रेनिङ सेन्टर’ को बद्नाम गर्ने र सञ्चालकको मानहानी गर्ने तरिकाको रिपोर्ट प्रस्तुत भएको भन्दै सञ्चालकले आपत्ति जनाएका छन् ।

सोधपुछ र अनुसन्धान बिना उक्त च्यानलले दृश्य समाचार प्रकाशित गरेकामा ट्रेनिङ सेन्टरको ध्यानाकर्षण भएको जनाएको छ ।    

सेन्टरमा ४ जना विद्यार्थीले आफूभन्दा सिनियर प्रशिक्षक, गुरुहरुले सिकाउने क्रममा अनुशासन विपरीत काम गर्ने, विद्यार्थी साथीलाई हातपात गर्ने, महिला विद्यार्थी साथीले सुन्नै नसक्ने गरी अश्लील शब्द प्रयोग गरेको आरोपमा निष्काशित हुनुपर्यो । उनीहरुमाथि बारम्बार सचेत गराउँदा पनि सुधार नआएको सेन्टर प्रशासनको आरोप छ । ती ४ जना विद्यार्थीलाई सेन्टरको नियम अनुसार अनुशासनको कारबाही गरी गत फागुन २८ गते शुक्रबार निष्काशित गरिएको ‘गोर्खा कम्पनी ट्रेनिङ सेन्टर’ का प्रबन्ध निर्देशक प्रेमकुमार राईले बताएका छन् । 

कारबाही गर्नुअघि आचरण ठीक नभएको भन्दै केही विद्यार्थीका अभिभावकसँग समेत सेन्टरले कुराकानी गरेको सञ्चालक राईले बताए । निष्काशित ४ जनाबाहेक अन्यले भने साथीहरु निष्काशित भएपछि आफूहरु पनि राजीखुसी सेन्टरमा आउन नसक्ने कुरा मेसेन्जरमार्फत् जानकारी गराएको प्रबन्ध निर्देशक राईले बताए । 

सेन्टरले गरेको कारबाहीपछि विद्यार्थीले आफूहरु अन्यायमा परेको महसुस गरेर सेन्टरका विरुद्ध लागि परे । तर विद्यार्थीको मुद्दाभन्दा पनि विवाद ट्रेनिङ सेन्टरहरुको सिण्डिकेट र यहाँको निषेधको राजनीतिमा गएर ठोकिएको छ । नेपाल फिजिकल ट्रेनिङ एसोसियसनसँग आवद्ध नभएको ‘गोर्खा कम्पनी ट्रेनिङ सेन्टर’ ले आफ्नो अस्तित्व स्वीकार नगर्नेहरुले विषयान्तर गरेको आरोप लगाएको छ ।

प्रबन्ध निर्देशक प्रेमकुमार राईले एउटा टेलिभिजनले प्रसारण गरेको समाचार ‘इन्टेन्सनले आएको’ आरोप लगाए । आफ्ना भनाइहरु नआउनु, टेलिभिजनले यथार्थ नबुझ्नु र एक पक्षीय समाचार प्रकाशित हुनुका पछाडि ‘ट्रेनिङ सेन्टरको सेन्डिकेट’ विरुद्धको आफ्नो अभियान भएको प्रबन्ध निर्देशक राईको दाबी छ ।   

निष्काशित विद्यार्थीले गत चैत २ गते सोमबार इलाका प्रहरी कार्यालय धरानमा सेन्टर विरुद्ध ठगीको निवेदन दिएका थिए । ३ गते भएको छलफलमा सेन्टरले पेश गरेका प्रमाणका आधारमा सेन्टरको गल्ती नभएको निष्कर्ष निकालिएको थियो ।

पछि निष्काशित युवाहरु सञ्चार माध्यमको सम्पर्कमा गएका थिए । एउटा टेलिभिजनले प्रसारित गरेको समाचारले सेन्टरको विश्वसनीयता गुमेको र मानहानी भएको भन्दै सेन्टर सञ्चालकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकारहरु माझ सेन्टरले टेलिभिजन च्यानलले यथार्थ समाचार सम्प्रेषण गर्नु पर्ने माग गरेको छ । लाहुरे लगाउने नाममा खोलिएका सेन्टरहरुको सिन्डिकेटका विरुद्ध, तिनीहरुको दलाली, र भ्रष्टाचारविरुद्ध मिसनका रुपमा ‘गोर्खा कम्पनी ट्रेनिङ सेन्टर’ सञ्चालन भएको बताउँदै प्रबन्ध निर्देशक राईले सोही पीडाबाट गुज्रिएका युवाहरुको उत्साहलाई हतोत्साहित नगर्न सञ्चारकर्मी माझ आग्रह गरेका छन् ।  

प्रबन्ध निर्देशक राईले आफ्नो संस्थाको विश्वसनीयता बचाइराख्न आफूहरु कानूनी प्रक्रियामा जानसमेत बाध्य हुनुपर्ने पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । 

‘प्रेमको अभियान’

ट्रेनिङ सेन्टरको अवैध असुली, सिण्डिकेट र जागिरपछिको मानसिक तनावलगायतका पीडा खपेर ब्रिटिश लाहुरे भएका युवा हुन्, प्रेमकुमार राई । पाँच वर्षसम्म बेलायती गोर्खा सेनामा सेवा गरी मेडिकल पेन्सनमा घर आएका उनी केही समय ट्रेनिङ सेन्टरमा जागिरे भए । सम्झौताअनुसार जागिरबाट रकम नपाएपछि असन्तुष्ट उनले आफैं ‘गोर्खा कम्पनी ट्रेनिङ सेन्टर’ स्थापना गरे । 

‘ट्रेनिङ सेन्टर’ को कर्तुत खोल्ने र आफूले जस्तो नयाँ पिढीले दुःख पाउन नपरोस् भनेर अभियानसमेत सञ्चालन गरिरहेका छन् । सबैभन्दा पहिले उनी ‘ट्रेनिङ सेन्टर कम्पनी’ हरुको ‘सिण्डिकेट’ तोड्न खोजिरहेका छन् । र, विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने र युवाहरुको सपनालाई साकार पार्ने उद्देश्यमा छन् ।  

व्यवसायलाई पनि अभियानका रुपमा सञ्चालन गरिनुपर्छ भन्ने मनसायले प्रेम बेलायतमा बस्न चाहेनन् । नेपालमै बसेर गोर्खा भर्तीलाई मर्यादित बनाउने अभियानमा लागे । अभियान स्वरुप स्थापना भएको कम्पनी हो ‘गोर्खा कम्पनी ट्रेनिङ सेन्टर ।’ 

आफ्नो स्थापना कालदेखि नै सेन्टरले गोर्खा भर्तीको नाममा हुँदै गरेको भ्रष्टाचार र दलालीको विरोध गर्दै आएको छ । भर्ती लगाइदिने नाममा प्रलोभन देखाएर सयौं युवालाई प्रत्येक वर्ष ठगी गर्दै आएका ट्रेनिङ सेन्टरहरुको विरुद्ध उनको अभियान हो । उनले आफ्नो अभियानलाई मिसनका रुपमा अघि बढाउने मनसायले गोर्खा भर्तीमा हुने ठगी र दलालीविरुद्ध कलम चलाउने पत्रकारको सम्मानमा ५० हजार राशीको ‘वीर गोर्खा पत्रकार पुरस्कार’ स्थापना गरेका छन् । साथै  २० हजार रुपैयाँ राशीको वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार समेत स्थापना गरेका छन् ।

‘ट्रेनिङ सेन्टरले बद्नाम गर्यो’

निष्काशित विद्यार्थीहरुले अनावश्यक रुपमा ट्रेनिङ सेन्टरले आफूहरुको भविष्यमाथि खेलबाड गरेको बताएका छन् । सेन्टरले सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रयोग गरेर आफूहरुको बद्नाम गरेको बताएका छन् । 

ब्लाष्टसँगको कुराकानीमा निष्काशित एकजना विद्यार्थीले भने– हामीले सेन्टरको फेसबुकको मेसेन्जर ग्रुपबाट ‘लिभ’ गर्यौं । सरले फोन गरेर कि भोलि प्यारेन्ट्स लिएर आइज नत्र सेन्टर नआइज भन्नु भयो । प्यारेन्ट्सहरु आउन भ्याउनु भएन ।

हामी पनि सेन्टर गएनौं । पछि सरसँग बसेर कुराकानी गर्दा सरले मिसबिहेभ गरेर हामीलाई सेन्टरबाट निकाल्दिनु भयो । हाम्रो पनि सरले निकै बद्नाम गर्दै हुनुहुँदो रहेछ । हामीले गल्ती गरेका छैनौं । हामीसँग पनि प्रमाण छ । पेश गर्न सकिन्छ । सरले बद्नाम गर्ने तरिकाले बोल्नु भएको रहेछ । फेसबुक लाइभमा पनि हेर्यौं । 

‘मेलमिलाप भएपछि टेलिभिजनमा समाचार’

ट्रेनिङ सेन्टर र निष्काशित गरिएका विद्यार्थीबीच इलाका प्रहरी कार्यालय धरानमा छलफलपछि सहमति कायम भयो । अन्यायमा परेको भन्दै विद्यार्थीले उजुरी गरेपछि दुई पक्षबीच सहमति गर्ने निष्कर्ष निस्कियो । तर टेलिभिजनमा पठाइएको सामग्री ढिलो प्रसारण भएपछि पुनः दुई पक्षबीच तनाव उत्पन्न भएको छ । 

अन्यायमा परेको भन्दै एउटा टेलिभिजनमा निष्काशित विद्यार्थीले पीडा सुनाएका थिए । एक विद्यार्थीले भने– विवाद भएपछि हामीले टिभीमा रिपोर्ट दिएका थियौं । तर, पठाएको बेला लाइदिएनछ, च्यानलवालाले भर्खर दुई दिन अगाडि लाइदिएछ । हाम्रो कुरा मिलिसकेको थियो । तर प्रेम सरले नै हाम्रो बद्नाम गर्ने गरी बोलिराख्नु भएको रहेछ, फेसबुक लाइभमा पनि हेर्यौं ।

अनुशासनहीन पनि भन्नु भयो । गुरुजीहरुसँग साथीहरुसँग झगडा पनि गर्यो भन्नु भयो । त्यस्तो काम चाहिं कहिल्यै गरिएको थिएन सर । हाम्रो फेमेलीलाई पनि नराम्रो रिपोर्ट गरिदिनु भएछ । कुलतमा लागेको भनेर बद्नाम गरिदिनुभएछ । अगाडि सेन्टर बसिन्जेल राम्रै भन्नुभएको थियो । सेन्टर छाडेपछि नराम्रो भन्नुभयो । 

तस्बिरः ब्लाष्ट उपेन्द्र चाम्लिङ