धरान/धरानको भानुचौकमा सोमबार ट्राफिक प्रहरीले चालकलाई नमस्कार गर्दै गर्दा यात्रु तथा सर्वसाधारण अचम्मित बने ।

ट्राफिक प्रहरीको नौलोशैली देखेर यात्रु तथा सर्वसाधारण केही भएको हो कि भनी भेला भए । अन्य बेलामा चालकको अनुमति पत्र, ब्लू बुक र गाडीको कागजात हेरिरहेका देख्ने ट्राफिक प्रहरीलाई फरक रूपमा देख्दा यात्रु तथा सर्वसाधारण अचम्मित बनेका हुन् । ट्राफिक प्रहरीले चालकहरूलाई प्रदेश १ ‘हर्न निषेधित क्षेत्र घोषणा’ क्षेत्र भइसकेको जनाउ दिँदै नमस्कार गरेका हुन् । 

‘चालकहरूलाई कृपया हर्न नबजाई दिन आग्रह स्वरूप नमस्कार गरेका हौं’ भनेर ट्राफिक हवल्दार दीपराज अधिकारीले भनेपछि यात्रु तथा सर्वसाधारण ‘एँ’ भन्दै बाटो लागे । सोमबार बिहान ठिक १० बजेतिर धरानबाट विभिन्न स्थानका लागि छुट्ने बसका चालकहरूलाई नमस्कार गर्दै अनुरोध गरिएको थियो । एक ट्राफिक प्रहरीले एउटा सवारीका चालकलाई नमस्कार गर्दै हर्न नबजाउन अनुरोध गरिएको थियो । ‘हामीले ३० सकेन्डदेखि १ मिनेटसम्म चालकहरूलाई सम्झाई बुझाई गर्ने कार्यक्रम गरेका हौं’ जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख इन्स्पेक्टर भूवनबाबु खड्काले भने । 

trafik_dharan (1) 2

प्रदेश १ मा कार्यरत ट्राफिक प्रहरीले एकसाथ सबै क्षेत्रमा १० बजे नै चालकलाई सम्झाई बुझाई गर्ने कार्यक्रम गरेको थियो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीमातहतमा सम्पूर्ण ट्राफिक प्रहरीले सवारी साधनका चालकलाई सम्झाई बुझाई गर्ने कार्यक्रम रहेको थियो । जसमा बस, ट्रक, ट्याक्टर, तथा अन्य सवारी साधनलाई पनि आग्रह गरिएको थियो । प्रदेश १ को १४ जिल्लामा अस्थायी ७३ र स्थायी १९ गरी ९२ वटा युनिट सञ्चालित छन् । जसमा ४ सय १० जना ट्राफिक प्रहरी कार्यरत रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

प्रदेश १ मा २०७४ असोज १ गतेदेखि नै हर्न निषेधित क्षेत्र घोषणा भए पनि त्यसविरुद्ध अदालतमा उजुरी परेपछि केही समय स्थगित भएको थियो । तर, उच्च अदालत विराटनगरले २०७५ जेठ १४ गतेको निर्णयले उजुरी खारेज गरेपछि ट्राफिक प्रहरीले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको प्रवक्ता तिम्सिनाले जानकारी दिए । उनका अनुसार हर्न बजाएबापत प्रदेश १ मा २२ हजार एक सय ३ वटा सवारी साधनलाई कारबाही गरिएको थियो । जसबाट १ करोड ११ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलनसमेत गरिएको थियो । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (घ) को ३ बमोजिम कारबाही गर्दै आएको छ । 

कोरोना महामारीका बेला यो कार्यक्रमले निरन्तरता नपाए पनि ट्राफिक प्रहरीले थप सशक्त रूपमा कार्यान्वयन गर्नका लागि आजदेखि कार्यक्रम सुरु गरिएको हो । ‘यो पुरानै कार्यक्रमको निरन्तरता हो, अब थप सशक्त रूपमा लैजाने तयारीमा छौं’ प्रवक्ता तिम्सिनाले फोनसम्पर्कमा भने ।