राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन् । 

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिन् । 

राष्ट्रपति भण्डारीले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीद परिवार तथा आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्तित्वप्रति तथा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गरेकी छन् । 

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीरवीराङ्गना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ ।

विक्रम संवत् २००७ को क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।