धरान । माग पुरा नगरेको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले बुधबार उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले तीन बर्षदेखि रोकिएको बढुवा प्रक्रिया प्रतिष्ठान पदाधिकारीहरुले अगाडि नबढाएको भन्दै तालाबन्दी गरेका हुन् । उपकुलपति प्रडा गिरी भने शिक्षाध्यक्ष प्राडा गुरु खनालसहित पाचदिन देखि काठमाण्डौमा छन् ।
चिकित्सकहरुले अन्यमागहरुमा आवास मर्मतकालागि उठाएको रकम आवास मर्मतमा खर्च गर्नुपर्ने, फ्याकल्टीहरुलाई आवास उपलव्ध गराउन भवन निर्माणकालागि पहल गनुपर्ने, विभागीय प्रमुखहरुको रोटेशन मिलाउनु पर्ने, शिक्षकहरुलाई टिचर्स ट्रेनिङ र अनुसन्धनात्मक तालिम दिनलाउनु पर्ने रहेका छन् । यसैगरी प्रतिष्ठानबाट निस्केको क्लिनिकल फोहोरमैलाको वैज्ञानिक व्यबस्थापन हुनुपर्ने, सहज इन्टर्नेटको व्यबस्था गर्नुपर्ने, प्रतिष्ठानभित्र विद्युत चोरी गर्नेलाई कारवाही गर्नुपर्ने, लगायत माग पनि चिकित्सकहरुले गरेका छन् ।
चिकित्सकको माग पुरा गर्नका लागि ध्यानाकर्षण गर्न तालाबन्दी गरेपछि चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा विष्णु पोखरेलले भने, ‘अव हामी एकहप्ता पर्खने छौं । त्यसपछि पनि माग सम्बोधन नभए समाजमा आवद्ध २ सय ७० जना चिकित्सकले सामुहिक राजिनामा दिने छौं ।’ चिकित्सक समाजले एकसाता अघि नै शिक्षाध्यक्ष प्राडा गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरिसकेको छ ।
आन्दोलन सुरु भएपछि गत माघ २६ गते समाज र प्रतिष्ठान पदाधिकारी वीच भएको वार्तामा उपकुलपति लगायत पदाधिकारीहरुले माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । तर १० दिन भन्दा बढी वितिसक्दा पनि दिएको आश्वासनअनुसार प्रगति नभएपछि तालाबन्दी गर्नु परेको समाजले जनाएको छ ।
समाजका अध्यक्ष पोखरेलले भने, ‘हाम्रो मुख्य माग बढुवा हो । तीन बर्षदेखि प्रतिष्ठानमा बढुवा प्रक्रिया रोकिएको छ । बढुवा प्रक्रिया रोकिन्दा त्यसको क्षति प्रतिष्ठानले नै व्यहोर्नु परेको छ । समय अवधि अनुसार बढुवा नुहदा धेरै चिकित्सकहरु प्राध्यापक हुन पाएका छैनन् । प्राध्यापक हुन नपाएपछि उनीहरुको वृत्ति विकास त रोकियो नै त्यससंगै हुने तलव सुविधा पनि पाउन सकेका छैनन् । विद्यार्थीको भर्ना पनि हुन सकेको छैन ।’
समाजका महासचिव डा एसपी रिमालले चिकित्सकको आन्दोलनले उपचार सेवालाई प्रभावित नबनाएको बताए । उनले सामुहिक राजिनामा निदएसम्म विरामी उपचार सेवामा रहेर नै आन्दोलित भइरहेको बताए । पाँचदिनदेखि काठमाण्डौमा रहेका प्रतिष्ठानका उपकुलपति गिरीले चिकित्सक समाजको माग सम्बोधन गर्नकै लागि मन्त्रालय र लोकसेवा आयोगमा ताकेता गरिरहेको बताए । उनले चिकित्सकहरुको माग जायज भएको बताए । उनले भने, ‘उहांहरुकै काम गर्न भनेर म पनि कुदी रहेछु । उहांहरुको बढुवा प्रक्रियाको फाइल लोकसेवा आयोगमा अगाडि बढेको छ । यो एकसाता मात्र काम हुन्छ ।’