भद्रपुर। भद्रपुर नगरपालिकामा निर्माणाधीन सडक तथा नालाको काम छाडेर ठेकेदार कम्पनी बेपत्ता बन्दा त्यसको प्रत्यक्ष मारमा स्थानीय परेका छन् । अर्कोतिर आयोजना ढिलासुस्ती हुने र बजेट बढ्ने सम्भावना पनि जीवित रहेको छ । 

सरकारको सघन सहरी विकास कार्यक्रमअन्तर्गत भद्रपुरमा २ अर्बको बजेटमा काम भइरहेको छ । तर, आयोजनाहरू निर्माणको चरणमै रहेका अवस्थामा ठेकेदार कम्पनीका कर्मचारी बेपत्ता बन्दा स्थानीयवासी धुलोबाट आक्रान्त बनेका छन् । घर अगाडिको नाला बनाएर छाडेका कारण धुलोले समस्या भएको स्थानीय सागर घिमिरेले बताए ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना झापाले दुईवटा प्याकेजमा सडक र नालाको ठेक्का लगाएको हो । लुम्बिनी, गजुरमुखी र एपेक्स काठमाडौँले भ्याटबाहेक ६६ करोड ८६ लाख २६ हजार ३ सय ८ रुपैयाँमा एउटा प्याकेजमा ठेक्का लिएको छ । त्यस्तै श्रेष्ठ, रसुवा र एपेक्स जेभी काठमाडौँले भ्याटबाहेक ८३ करोड ८० लाख ९० हजार २३१ रुपैयाँमा अर्को प्याकेजको ठेक्का लिएको कार्यालयले जनाएको छ । 

त्यसमध्ये श्रेष्ठ, रसुवा र एपेक्स जेभीअन्तर्गत नगरमा सञ्चालित अधिकांश सडकको काम ढिलासुस्ती भइरहेको स्थानीय सागर घिमिरेले बताए । भद्रपुरको जनता चोकदेखि घोडामारा हुँदै हडिया पुलसम्मको ४ किलोमिटर कालोपत्रे सडक अलपत्र पारेको अवस्था छ । निर्माण कम्पनीले २०७४ मङ्सिर १ गते ठेक्का सम्झौता गरेको सो सडक अहिलेसम्म बन्न नसकेको घिमिरेले बताए ।

सडक अलपत्र छाडेका कारण धुलोले समस्या भएपछि पटक–पटक सघन सहरी विकास तथा भवन निर्माण आयोजना र जिल्ला प्रशासन कार्यालय झापामा डेलिगेसन गइसके पनि सुनुवाइ नभएको उनको भनाइ छ । ‘केही दिन काम गरेजस्तो गर्ने र फेरि अधुरो छाडेर बेपत्ता हुने बानी लागिसकेको छ’–स्थानीय सञ्जय ढकालले भने । 

निर्माण कम्पनीको ढिलासुस्तीको सिकारमा वडावासी परेको भद्रपुर नगरपालिका ५ नम्बर वडाध्यक्ष बन्धु कार्कीले बताए । वडा कार्यालयले पनि सम्बन्धित निकायलाई मौखिक र लिखित रूपमा पटक–पटक ध्यानाकर्षण गराइसकेको उनले बताए । उनले आक्रोस पोख्दै भने, ‘यस्ता कम्पनीलाई कालोसूचीमा राखेर कारबाही अघि बढाउनु पर्छ ।’ श्रेष्ठ, रसुवा र एपेक्स जेभी काठमाडौँ अन्तर्गत नगरमा सञ्चालित नालासहित सडक विस्तार कामको ६५ प्रतिशत मात्र सम्पन्न गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना झापाका प्रमुख राजेन्द्र खतिवडा बताउँछन् ।

थप भएको म्याद अवधिमा पनि श्रेष्ठ, रसुवा र एपेक्स जेभीले काम सम्पन्न गराउन कुनै चासो नदेखाए कालोसूचीमा राख्ने चेतावनी दिइसकेको प्रमुख खतिवडाको भनाइ छ । २०७७ माघ १० गते आयोजनाले पत्रिकामै सूचना निकालेर यस्तो चेतावनी दिइसकेको उनले बताए । सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा ७ र ८ र ठेक्का सम्झौताको बुँदा ५७ अनुसार ठेक्का सम्झौता अन्त्य गरी निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न लेखी पठाइने र थप आवश्यक कारबाही अघि बढाइने जानकारी गराइने व्यहोराको सूचना जारी गरिएको उनले बताए । 

आयोजनाले कालोसूचीमा राख्ने सूचना जारी गरेसँगै श्रेष्ठ, रसुवा र एपेक्स जेभी र आयोजनाबीच सहमति भएको उनको भनाइ छ । थप ६ महिनाको समय अवधिभित्र प्याकेजमा परेका सबै काम सम्पन्न गर्ने सहमति भएको उनले जानकारी दिए । अन्तिम पटक २०७७ मङ्सिर १० गतेसम्म म्याद थप भएको मितिसमेत समाप्त भएको हुँदा छिटो कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीले मङ्सिर १८ गतेदेखि योजनास्थलमा आवश्यक पर्ने जनशक्ति, निर्माण सामग्रीहरू र मेसिनरी उपकरणहरूको  व्यवस्थापन गरी बाँकी कार्य सम्पन्न गर्ने स्पष्ट कार्य योजना पेस गरी तत्कालै बाँकी कार्य सम्पन्न गर्नुपर्ने अन्यथा यसै माइन्युटलाई आधार मानी ठेक्का सम्झौताअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सहमतिसहित निर्णय भएको आयोजना प्रमुख खतिवडाले बताए ।

बैठकमा आयोजना प्रमुख खतिवडा, लेखा अधिकृत दयाराम काफ्ले, इञ्जिनियर अर्जुन महतो कुशवाह, श्रेष्ठ, रसुवा र एपेक्स जेभीका अध्यक्ष सुवास श्रेष्ठ, निर्माण व्यवसायी सङ्घ झापाका अध्यक्ष मिलन बस्नेत, नायव सुब्बा प्रदीप दाहाल, प्रोजेक्ट मेनेजर विवेक कार्की, निर्माण कम्पनीका इञ्जिनियर विवेक दाहालले सो निर्णयमा हस्ताक्षर गरेका छन् । अहिले निर्माण कम्पनीले भ्याटबाहेक ७४ करोड ८७ लाख ९० हजार रुपैयाँ लगिसकेको छ । कोभिडका कारण थप गरिएको ६ महिनाको समय अवधिमा निर्माण कम्पनीले सबै काम सक्नुपर्ने आयोजना प्रमुख खतिवडाको भनाइ छ ।