संखुवासभा । निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोगनाको टिपरले ठक्कर दिँदा मृत्यू भएकाको शव तीन दिन बित्दा समेत उठ्न सकेको छैन ।

आइतबार साँझसम्म वार्ता भईरहे पनि सहमति हुन सकेको छैन । तीन दिनदेखि आन्दोलित स्थानीयको माग सम्बोधन नभएको भन्दै मृतकका आफन्तले शव बुझ्न नमानेका हुन् । शुक्रबार मोटरसाइकलमा सवार मकालु गाउँपालिका वडा न– ३ हेदाङ्नागढीका ४२ वर्षिय खड्गबहादुर राईको अरुण तेस्रोको भारतीय नम्बर प्लेटको टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो । 

ठक्करबाट सामान्य घाइते भएका खड्ग बहादुरलाई टिपर पछाडि गरेर किचेर मारेको स्थानीयले आरोप लगाएका छन् । उचित क्षतिपूर्ति दिने सहमति नभएको भन्दै स्थानीयले सडकमै शव राखी जलविद्युत आयोजनाको कामसमेत अवरुद्ध गरेका थिए । दुर्घटनामा गम्भीर घाइते भएकी प्रेम कुमारी राईको उपचार काठमाडौंको चाबहिल स्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा भइरहेको परिवार स्रोतले जनाएको छ । टिपर चालक काभ्रे नमोबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उचित क्षतिपूर्तिबिना शव नउठाउने माग राख्दै शुक्रबारदेखि नै स्थानीय आन्दोलित छन्  । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले पीडित पक्ष र अरुण तेस्रोसँग वार्ता गरेर समस्याको निकास निकालिने बताए । आइतबार घटनास्थलमा वार्ताका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली गएको छ । शनिबार नै वार्ताका लागि सदरमुकाम खाँदबारीबाट गएका सहायक प्रजिअ मोहनमणि घिमिरे, संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्ल, मकालु गाउँपालिका जनप्रतिनिधि र अरुण तेस्रोका कर्मचारीको टोलीबीच पटक पटक वार्ता भएपनि सहमति जुट्न सकेका थिएन । पिडित र आयोजना निर्माण कम्पनीबीच वार्ता लगभग अन्तिम चरणमा पुगेपनि सहमति भने जुट्न नसकेको प्रहरीका मिडिया समन्वय इकाईले जनाएको छ । 

शुक्रबारदेखि नै पीडितका आफन्तले घाइतेको उपचार, बालबच्चा पढाइ दिन माग गर्दै आयोजनाको काम ठप्प पारेका छन् । स्थानीयले आयोजनाको बाँध निर्माणस्थलको काम र उत्तर दक्षिण कोसी सडकअन्तर्गत फ्याक्सिन्दा सडक शुक्रबार दिउँसोबाटै अवरुद्ध गरेका छन् । पीडितको मागप्रति ध्यान नदिएको भन्दै शुक्रबार स्थानीयले आयोजनाको भारतीय नम्बर प्लेटको टिपर र जिपमा आगजनी गरेका थिए । त्यसैगरी बाँध निर्माणस्थल र सुरुङ निर्माण गरिरहेको भारतीय निर्माण कम्पनी जयप्रकाश एसोसिएटको स्थानीय कार्यालयमा तोडफोड र आगजनीसमेत गरेका थिए ।