भद्रपुर/ नेपाल–भारत छुट्याउने अन्तर्राष्ट्रिय सीमास्तम्भहरू रातारात नेपाली भू–भागमा सार्ने काम बढेर गएको छ । नेपालमा पछिल्लो समयमा राजनीतिक तरलता छाएको र विभिन्न आन्दोलनको मौका छोपेर दुई मुलुकबीचको अन्तर्राष्ट्रिय सीमारेखामा राखिएकामध्ये झापासँग जोडिएका सीमास्तम्भहरू भारतले नेपालतिर सारेर सीमा अतिक्रमण गरिरहेको छ ।   

झापाको भद्रपुर–४ साविक महेशपुर गाविसको डाँगीबारीमा गाडिएको १०३ नम्बरको सीमास्तम्भ पहिलेको स्थानबाट करिब ५ सय मिटर पश्चिममा पर्ने नेपाली भूमिमा सारिएको पाइएको छ । भारतले उक्त सीमास्तम्भ हाल स्थानीय दुले माइला रायको नम्बरी जग्गामा गाडिएको छ । स्थानीय राम गोपालका अनुसार भारत र नेपालको सीमारेखा छुट्याउने झापाका अधिकांश सीमास्तम्भ जोखिममा रहेका छन् । उनले भने, ‘वर्षैपिच्छे सीमास्तम्भ सारेर भारतले नेपाली भूमि मिच्दै आइरहेको छ । यस्तै तरिका हो भने राति सुत्दा नेपाली, ब्युँझिदा भारतीय हुने दिन नआउला भन्न सकिन्न ।’ उनी डाँगीबारीमा बसोबास गरेको ६० वर्ष भयो । सुरुमा पाँचसय मिटर पर देखेको सीमास्तम्भ हाल आफ्नै जग्गा नजिक आइपुगेको बताए । 

उनले भने, ‘पहिले–पहिले हेर्दा आँखाले नदेखिने दूरी (करिब पाँच–सात सय मिटर दूरी) मा रहेका सीमास्तम्भ अहिले घरछेउ आइपुग्न लागेका छन् । तर, यस विषयमा नेपाल सरकारलाई कुनै चासो छैन । भारतले दशगजा क्षेत्रमा रहेको १०३ नम्बरको सीमास्तम्भ पाँचसय मिटर सारेको ८ वर्ष जति भयो ।’ उक्त सीमास्तम्भसँगै अन्य मझौला स्तम्भसमेत भारतले नेपालतिर सारेर भूमि अतिक्रमण गरेको स्थानीयको भनाइ छ ।

नेपाल तर्फबाट ‘जग्गा नछाड्नु खेती गरिरहनु’ भन्दै आइरहे पनि भारतले भने सीमास्तम्भ सारेर नेपाली भूमि अतिक्रमण गरेको स्थानीय बासिन्दाले बताए । सीमास्तम्भ सारेपछि बीचमा रहेको जमिनमा दोहोरो खेती प्रणाली भने चलिरहेको उनको भनाइ छ । द्वन्द्वको समयमा प्रहरीले सीमा छाडेर सहर केन्द्रित भएपछि भारतीयले मौका छोपेको स्थानीय जानकारहरू बताउँछन् । स्थानीय साकिर राजवंशीले सीमास्तम्भ सार्ने काम भारतले निरन्तर जारी राखेको बताए । वडा नम्बर ३ मा पनि बर्सेनि यस्ताखाले स्तम्भ नेपालतर्फ सार्दै आइरहेको उनले बताए । दुई वर्षको अन्तरमा ३ वटा स्तम्भ भारतले सारेको त्यहाँका स्थानीय बताउँछन् । 

उता भारतीय सीमाअन्तर्गत गौरीगञ्जका विभिन्न वडामा रहेका स्तम्भमध्ये ३० देखि ४० वटा सीमास्तम्भ जोखिममा रहेको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको दाबी छ । सीमास्तम्भ तत्काल मर्मत नगरे सीमा मिचिने खतरा रहेको उनले बताए । उनले भने, ‘सीमास्तम्भहरू व्यवस्थापन नगरे अरू ठाउँमा पनि कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताको जस्तो समस्या आउन सक्छ ।’ भारतसँग एकसय ४४ दशमलव २ किलोमिटर क्षेत्रमा जोडिएको झापामा ९ सय ९५ वटा सीमास्तम्भ छन् । तीमध्ये ३६ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको सशस्त्र प्रहरीको तथ्याङ्कमा उल्लेख छ । ७६ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा रहेको सशस्त्र प्रहरी बल नम्बर १ वराह बाहिनी मुख्यालयका प्रमुख डिआइजी वंशीराज दाहालले बताए ।

उनले भने, ‘सीमास्तम्भ एकदेशले मात्र चाहेर सर्दैन । दुई देशका संयुक्त नापी विभागको अनुगमनले मात्र हराएका, ढलेका सीमास्तम्भका विषयमा टुङ्गो लाग्छ । सशस्त्र प्रहरी सीमाक्षेत्रमा खटिनुभन्दा अघि जे जस्तो भए पनि सशस्त्र परिचालन भएयता एक इञ्च पनि तलमाथि भएको छैन ।’ झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले जिपीएस सिष्टमले जहाँ देखाउँछ, त्यहीँ हुने बताए । उनले भने, ‘०६६ सालदेखि दुवै मुलुकको सीमा कायमका लागि जिपिएस सिष्टम कार्यान्वयन भएकोले सीमास्तम्भ सर्नै सक्दैन । जिपीएस सिष्टम कार्यान्वयन भन्दा अघि के भयो त्यो थाहा भएन ।’