धनकुटा/ पत्रकार महासङ्घ धनकुटा शाखाको १० औं साधारणसभाको क्रममा ब्लाष्टकर्मीसहित चारजना पत्रकार पुरस्कृत भएका छन् ।
पाख्रीबासमा सम्पन्न कार्यक्रममा ब्लाष्टकर्मी सन्तवीर लामासहित विनोद घिमिरे, सरिता बराइली र देवकला कार्की पुरस्कृत भएका हुन् । उनीहरूलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित सम्मान–पत्रले पुरस्कृत गरिएको महासङ्घ धनकुटा शाखाका अध्यक्ष राजेश्वर श्रेष्ठले जानकारी दिए ।
महासङ्घको संस्थागत विकासका लागि महत्वपूर्ण योगदान दिने पत्रकार महासङ्घ धनकुटा शाखाका पूर्व अध्यक्षहरू सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई, खगेन्द्रप्रसाद घिमिरेलाई पाख्रीबास नगरपालिकाका प्रमुख बृषबहादुर राई, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उद्धव तिम्सिना, नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
त्यसैगरी महासङ्घको भवन निर्माणमा महत्वपूर्ण सहयोग गरेको भन्दै धनकुटा नगरपालिकाका इञ्जिनियर मिङ्मादोर्जी शेर्पा, धनकुटा बहुमुखी क्याम्पसका सह–प्राध्यापक किरण घिमिरे, नेपाल निजामती कर्मचारीहरूको धनकुटा जिल्लाको आधारिक ट्रेड युनियनका अध्यक्ष गोविन्द खत्री, तत्कालीन नेपाल पत्रकार महासङ्घ धनकुटाका सचिव लीलावल्लभ घिमिरे, यूवा पत्रकार हरिबहादुर लम्जेललाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा पाख्रीबास नगरपालिकाका प्रमुख वृषबहादुर राईले पत्रकारहरू समाजको ऐना भएकाले पत्रकारहरूले निष्पक्ष, स्वतन्त्र र इमानदारितापूर्वक कलम चलाउनुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाको प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।