विराटनगर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दको क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले प्रदेश १ को चार जिल्लामा ८ वटा सवारी साधन तोडफोड गरेका छन् । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार प्रदेशको मोरङमा ३, सुनसरीमा ३, झापा र इलाममा १–१ गरी ८ वटा सवारी साधन तोडफोड गरेका हुन् । प्रचण्ड–माधव समूहका ९ जना कार्यकर्ताहरूलाई प्रहरीले मोरङ र सुनसरीबाट नियन्त्रणमा लिएको थियो । उनीहरूलाई बिहीबार साँझ प्रहरीले छोडेको छ । 

बन्दकर्ताहरूले प्रदेश १ को राजधानी विराटनगरमा मात्र तीन वटा सवारी साधन तोडफोड गरेका छन् । विराटनगरको रोडशेषचौकमा बिहान भारतीय नम्बर प्लेटको सवारीसाधन तोडफोड गरेका छन् । रानी–विराटनगर सडक–खण्डअन्तर्गत विराटनगरतर्फ आउँदै गरेको १० सिजेएच ४४४ नम्बरको स्कारपियो गाडी तोफोड गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले तोडफोड गरेको उक्त गाडी आइसीपी निर्माण कम्पनीको गरेको बुझिएको छ ।

यस्तै विराटनगर–२ तीनपैनी स्थित बा.१ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड भयो । तीनपैनी चौकअगाडि सरकारी गाडी तोडफोड भएपछि मोरङ प्रहरीले नेकपा मोरङको पार्टी कार्यालय अगाडिबाट मोरङ जिल्ला सङ्घर्ष समितिका सह–संयोजक पारुल क्षेत्रीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले क्षेत्रीसहित विराटनगर महानगर सङ्घर्ष समितिका सह–संयोजक हीरा मिरा, विराटनगर महानगर कमिटीका सचिवालय सदस्य शारदा मैनाली, विराटनगर महानगर सदस्य तथा नगर कार्यपालिका सदस्य चम्पा कार्की, राष्ट्रिय युवा सङ्घ जिल्ला सदस्य सङ्गम चौधरी, अनेरास्ववियु जिल्ला सचिवालय सदस्य उमेश ढुङ्गाना पक्राउ परेका थिए ।  प्रहरीले उनीहरू सबैलाई बिहीबार साँझ छाडेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । 

पक्राउ परेकामध्ये क्षेत्रीलाई प्रहरीले कुटपिट गरेको उनले बताए । कुटपिटबाट खुट्टामा चोटपटक लागेको क्षेत्रीको भनाइ छ । नेकपा मोरङले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेको छ । ‘प्रतिगमनको विरुद्धमा भएको शान्तिपूर्ण आन्दोलनमा असंवैधानिक निरङ्कुश ओली सरकारले गरेको दमनकारी हर्कत तत्काल बन्द गरी आन्दोलनमा मण्डले प्रवृत्तिको दमन, गिरफ्तार र यातनामा उत्रिए उत्पन्न परिस्थितिको जिम्मेवार हुन ओली सरकारलाई चेतावनी दिनेछौं’ नकेपा जिल्ला सङ्घर्ष समिति मोरङका संयोजक गणेश उप्रेती (सुशील) ले जारी गरेको विज्ञप्तिमा उल्लेखछ  ।

यस्तै विराटनगरको महेन्द्रचौकस्थित बा. १६ च ४४०४ नम्बरको कार बन्दकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ । उता सुनसरीको धरानमा दुईवटा र इटहरीमा एउटा सवारी साधनमाथि तोडफोड भएको छ । धरानको भानुचौकमा को.१ ख ७०१६ नम्बरको पानी बोक्ने ट्याक्टर र को.१ च ६७७१ नम्बरको कार तोडफोड भएको प्रदेश प्रहरीले जनाएको छ ।

इटहरीस्थित भारतीय नम्बरप्लेट ०१ जीजी १८१४ नम्बरको भारतीय ट्रकमा ढुङ्गा प्रहार गरी तोडफोड गरे ।झापाको बिर्तामोड पश्चिम स्टेण्डमा मे.१ च १९४२ नम्बरको कार तोडफोड गरेका छन् । यस्तै इलाममा ना.५ ख २१९७ नम्बरको ट्रकमा बन्दकर्ताहरूले आक्रमण गरी सामान्य क्षति पु¥याएको प्रदेश प्रहरीले जनाएको छ । 

विराटनगरमा पसल तोडफोड 

बन्दको बेला पसल खुल्ला गरेको भन्दै प्रदर्शनकारीले विराटनगर महानगरपालिका–२ स्थित चियाखाजा पसलमा बिहीबार दिउँसो तोडफोड गरेका छन् । 

पसल बन्द गर्न आग्रह गर्दा सञ्चालकले तातो तेल छर्कने प्रयास गरेकोले भीड आक्रोसित भएर तोडफोड गरेको बन्दकर्ताले बताएका छन् । पसल सञ्चालकले भने तोडफोडका क्रममा आपूmहरूमाथि समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल खन्याएको आरोप लगाएका छन् । तेलको छिटाले लागेर श्रीमती वसन्ती सहनी र छोरी बबिता सहनी घाइते भएको पसल सञ्चालक प्रमोद सहनीको भनाइ छ ।

नेकपा केन्द्रीय सदस्य शिवकुमार मण्डल नेतृत्वमा रहेको भीडले पसल तोडफोड गर्न थालेपछि मण्डलले रोक्ने प्रयास गरेका थिए । तर, उत्तेजित भीडले तोडफोड गरेको हो । चिया पसल सञ्चालन गर्दा अवरोध नगर्ने बताएपछि आफूले पसल खोलेको पसल सञ्चालकको भनाइ छ । तोडफोडबाट पसलमा रहेको शोकेसको सिसा फुटेको छ भने खानेकुरा भूईंमा छरपष्ट बनाइएको छ । प्रहरीले तोडफोडको घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ ।