पथरीशनिश्चरे ।  ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग’ले अघि सारेको कार्यक्रम अनुरुप मोरङको पथरी शनिश्चरे नगरमा वडा वडामा लगत संकलनको काम सुरु भएको छ ।

 नगरमा बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालय स्थापना गरी १० वडाबाट ३,३ जनाका दरले कर्मचारी नियुक्त गरिएको छ । ती कर्मचारीमार्फत जनप्रतिनिधिको सहभागितामा लगत संकलन कार्य अघि बढाइएको नगर प्रवत्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । इकाई कार्यालयको प्रमुखमा सरोज भट्टलाई नगर कार्यपालिकाको बैठकले जिम्मेवारी दिएको छ ।

नगरले सर्वपक्षीय भेला भोलाएर ४० औं वर्षदेखिको सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि लगत संकलन गरी नापजाँच कार्यमा सवैले सहयोग पुर्याउन अनुरोध गरेको थियो । भूमि आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईंसँग नगरमा २ पटक अन्तरक्रिया कार्यक्रम राखी समस्या समाधानका लागि अघि बढ्ने निर्णय भएको थियो । केन्द्रीय सदस्य गुरागाईंले आयोगले आफ्नो काम अघि बढाउँदै लाने र बीचमा कुनै जग्गाको विषयमा समस्या देखिएमा पालिकाको राय मागेर निर्णय गर्ने र आयोगको निर्णयअधिकार क्षेत्रभित्र नपरेमा मन्त्रीपरिषदको निर्णयका लागि लेखि पठाउने बताएका छन् । एउटाले ढालफाँड गरेर बसेको अवस्थामा त्यसपछि अर्काे पक्षले किर्ते रुपमा पूर्जा निकालेको सन्दर्भमा छानविन गर्दै मन्त्रीपरिषदसम्म पुर्याएर निर्णय गराएर भएपनि समस्याको समाधान गर्ने आयोगको लक्ष्य रहेको उनले उल्लेख गरेका छन् । एउटाले ढालफाँड गरेको र अर्कौले पूजा निकालेको समस्या पथरीशनिश्चरे र कानेपोखरीमा बढी मात्रामा रहेको छ । अघिल्ला आयोगले गरेका मोठ कायम नभएका लगायतका अधुरा काम पनि हालको आयोगले सम्पन्न गर्ने उल्लेख छ ।

कही कतै आफ्नो र परिवारको नाममा जग्गा नभएको तथा ऐलानी जग्गा भोग गरेकाले अनुसूचि ३ को ‘भूमिहीन सुकुम्बासी’ फारम भर्नुपर्ने र अन्यत्र केही जग्गा समेत भएको तर १० वर्षअघिदेखि आफुले ऐलानीपर्ति जग्गा जोतभोग गर्दै आएकाले अनुसूचि ४ को ‘अव्यवस्थित बसोबास’को फारम भर्नुपर्ने हुन्छ । आफुले भोगेको खेतीयोग्य जग्गा डेढ विगाहासम्म एउटा परिवारले प्राप्त गर्ने प्रावधान छ । आयोगले फारम भरेपछि फारम भरेको प्रमाण समेत बसोबासवालालाई प्रदान गर्नेछ ।