विराटनगर। मोरङको बूढीगङ्गा गाउँपालिका–४ हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा अनुसन्धान केन्द्र सञ्चालनमा आएको छ ।
विश्व विद्यालय परिसरभित्र सुविधा सम्पन्न अनुसन्धान केन्द्र स्थापना भएको हो । अनुसन्धान केन्द्रमा अहिले तीनजना इञ्जिनियरहरू अनुसन्धानमा जुटेका छन् । इञ्जिनियर गोपाल सापकोटाको नेतृत्वमा तीनजना इञ्जिनियरले अहिले मनमोहन प्राविधिक विश्व विद्यालयको अनुसन्धान केन्द्रमा अनुसन्धान गर्दै आएका छन् । उनीहरू स्वदेशमै रासानिक मल उत्पादन गर्न आवश्यक पर्ने तŒव र सवारी साधन गुडाउन इन्धनका रूपमा प्रयोग गरिने ‘हाइड्रोजन ग्यास’ पानीबाट उत्पादन गर्न अहिले अनुसन्धानमा जुटेका हुन् ।
युरिया मल उत्पादन गर्न आवश्यक पर्ने र प्रदूषणरहित तरिकाले सवारी इन्धनका रूपमा प्रयोग गर्न सकिने ‘हाइड्रोजन’ ग्यास पानीबाट उत्पादन गर्न अनुसन्धानमा जुटेको इञ्जिनियर गोपाल सापकोटाले जानकारी दिए । ‘हाइड्रोजन’ ग्यास उत्पादनको अनुसन्धानमा मनमोहन विश्वविद्यालयका इञ्जिनियर सापकोटाको नेतृत्वमा मेकानिलक इञ्जिनियर सञ्जय चौधरी र इलेक्ट्रिक इञ्जिनियर विनोद घिमिरेको टिम जुटेको छ ।
‘अनुसन्धानमा जुटेको एक महिना भएको छ’ इञ्जिनियर सापकोटाले भने, ‘अहिले हामी प्रारम्भिक चरणमा छौं ।’ लकडाउनले गर्दा आवश्यक सामग्री र उपकरणहरू भारतबाट ल्याउन ढिलाइ भएको र नेपालमा चाहेजस्तो सामग्री निर्माण हुन नसकेकोले अनुसन्धानमा समय लागेको टिम लिडर सापकोटाले बताए । उनका अनुसार उनीहरूले पानीबाट ‘हाइड्रोजन’ ग्यास उत्पादन गरेर स्टोर गरी प्रयोग गर्ने परियोजनाबारे अनुसन्धान गरिरहेका छन् । ‘अहिले पानीबाट हाइड्रोजन ग्यास निकाल्ने काम सकिएकोले धमाधम स्टोर गर्नका लागि ग्लास सेटअप गर्ने काम भइरहेको छ’ –इञ्जिनियर सापकोटाले भने ।
इञ्जिनियर सापकोटाका अनुसार हाइड्रोजन ग्यास अभावमा नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना हुन सकेको छैन । ‘रासायनिक मल उत्पादन गर्न उच्च विद्युत्तीय शक्ति आवश्यक पर्दछ । त्यसका लागि मिथेन कि हाइड्रोजन ग्यास आवश्यक पर्दछ । मिथेन ग्यास अति नै प्रज्वलनशील हुने भएकोले विदेशबाट ढुवानी गर्न पनि समस्या छ । तर, अब नेपालमै खोलाको पानीबाट हाइड्रोजन ग्यास निकालेर मल कारखाना सञ्चालन गर्न सकिनेछ’ उनले भने, ‘मल बनाउन आवश्यक पर्ने अन्य सबै कच्चापदार्थहरू पर्याप्त मात्रामा नेपालमा उपलब्ध छ ।’
तथ्याङ्क अनुसार नेपालमा प्रतिवर्ष ६ अर्ब रुपैयाँ बराबरको युरिया मल दोस्रो र तेस्रो मुलुकबाट आयात हुने गरेको छ । नेपालमा हरेक वर्ष १३ अर्ब बढीको रासायिनक मलको कारोबार हुने गरेको छ । रासानियक मल मुख्यतः विद्युत्, कोइला र ग्यासबाट उत्पादन हुने गरेको छ । तर, सबैभन्दा सस्तो मल ‘हाइड्रोजन ग्यास’ बाट मात्र उत्पादन हुन्छ । नेपालमा अलग्गै ३ सय ८० मेगावाट बराबरको विद्युत्तीय पावर प्लाण्ट निर्माण भएको छैन । यसैगरी कोइला र ‘हाइड्रोजन ग्यास’ पनि उत्पादन भइसकेको छैन ।
हाइड्रोजन ग्यासबाट युरोपियन देशहरूमा मोटर पनि कुदाउन थालिएको छ । यो ग्यासले मोटर कुदाउँदा वायु प्रदूषण शून्य हुने गरेको जानकारहरूको भनाइ छ । इञ्जिनियर सापकोटाका अनुसार एक केजी हाइड्रोजन ग्यासले ९१ किलोमिटरसम्म मोटर गुडाउन सकिनेछ । नेपालमा पानीको स्रोत पर्याप्त भएकोले हाइड्रोजन ग्यास उत्पादन गरेर प्रयोगमा ल्याउन सके सवारी इन्धन अति नै सस्तो पर्नेछ ।
यसबाहेक ग्यासबाट उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणमार्फत् प्रयोग गर्न सकिनेछ । हाइड्रोजन ग्यास उत्पादन गर्ने क्रममा सँगै अक्सिजन पनि उत्पादन हुन्छ । उत्पादन भएको अक्सिजन अस्पताल र खानीहरूमा बिक्री गर्र्ने योजना रहेको इञ्जिनियर सापकोटाले सुनाए ।
मनमोहन प्राविधिक विश्वविद्यालयले अनुसन्धान गर्न चाहने जो कोहीलाई पनि आफ्नो केन्द्र खुल्ला गरेको बताएको छ । नयाँ आविष्कार गर्न चाहने कोही पनि विद्यार्थीलाई बास बस्ने व्यवस्था र आवश्यक उपकरण समेत सहयोग गर्ने योजना रहेको प्रशासन प्रमुख मदन श्रेष्ठले बताए । उनका अनुसार बाहिरका विद्यार्थीलाई अनुसन्धानमा सहयोग गर्न काठमाडौंस्थित राष्ट्रिय आविष्कार केन्द्र्रसँग पनि सम्झौता भएको छ ।