भद्रपुर । झापाको कचनकवलमा एक जनाको जलेर मृत्यु भएको छ ।

आगलागीमा परेर मृत्यु हुनेमा कचनकवल १ स्थित घेराबारीको अन्दाजी ५५ वर्षीय गोवर्धन राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार एक तले काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको घरमा सोमबार बिहान अचानक आगलागी भएको थियो ।

घरभित्रै सुतेका राजवंशीको जलेर मृत्यु भएको जनाइएको छ । आगलागीमा परी उनको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ, भने  एउटा माउ गाई, दुई वटा बाछा र तिन वटा बाख्रा समेत जलेर मरेको प्रहरीले जनाएको छ । आगलागीबाट अन्य सदस्य भाग्न सफल भएको उनले जनाए । 

घरमा आगो लागेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीसहित भद्रपुर र बिर्तामोड नगरपालिकाको दुई वटा दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । घरमा के कारणले आगो लागेको भन्ने नखुलेको थापाले जनाए ।