भण्टाबारी । अपांगता न्यूनीकरण गर्ने उद्देश्यले सुनसरीको कोशी गाउँपालीका क्षेत्रका स्वास्थ्यकर्मीलाई लक्षित गरेर मोबाइल स्वास्थ्य कार्यक्रम संचालनमा आएको छ । अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत मोबाइल स्वास्थ्य कार्यक्रम संचालनमा आएको हो ।
मातृ तथा बाल स्वास्थ्य समन्वयका लागि कोशी गाउँपालीका क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई तीनदिने मोबाइल स्वास्थ्य तालीम दिइएको फोकल पर्सन राजकिशोर मेहताले जानकारी दिए । कोशी गाउँपालीकाको आयोजना तथा करुणा फाउन्डेसन नेपालको सहकार्य र प्रदेश सरकारको समन्वयमा आयोजना गरिएको मोबाइल स्वास्थ्य सम्बन्धि प्रशिक्षकलाई प्रशिक्षण तालीममा १८ जनाको सहभागिता रहेको थियो ।
कोशी गाउँपालीकामा रहेका आठवटै वडाका स्वास्थ्य चौकी प्रमुखहरु, आठजना अनमी, स्वास्थ्य शाखा प्रमुख र फोकल पर्सन गरी सहभागीहरुलाई करुणा फाउन्डेसन र प्रदेश कार्यालयबाट आएका सहजकर्ताहरुले मोबाइल स्वास्थ्य सम्बन्धी तालिम दिएका थिए । सहभागीहरूलाई करुणा फाउन्डेसन नेपालका केन्द्रिय प्रोग्राम म्यानेजर रश्मि पौड्याल, प्रदेश कार्यालयका सिनियर प्रोग्राम अफिसर मजबुल आलम, मेडिक मोबाइल कम्पनीका म्यानेजर जगरनाथ बिष्ट, प्रदेश कार्यालयका प्रोग्राम अफिसर सगुन गुरुङ लगायतले प्रशिक्षण दिएका थिए ।
अपंगता रोकथाम गर्न महिला गर्भवती भएको अवस्थादेखि नै ध्यान दिनुपर्ने भएकोले सुरुवाती चरणमा स्वास्थ्यकर्मीहरुलाई मोबाइल तालीम दिएको फोकल पर्सन मेहताको भनाइ छ । उक्त तालिम पश्चात् आठवटै स्वास्थ्य चौकीका अनमीलाई मोबाइल वितरण गरिएको र एकहप्ता भित्र ८० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि वितरण गरिने उनले बताए । तालिममा सहभागी भएका अनमीहरुलाई कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले मोबाइल वितरण गरेका थिए ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले मोबाइलबाट म्यासेज गर्दै महिला गर्भवती भएको बारेमा जानकारी गराउनुका साथै उनीहरूका अवस्थाका बारेमा समय समयमा जानकारी गराउनेछन् । यदि कुनै महिला गर्भवती हुँदादेखि सुत्केरी भएसम्म कुनै प्रकारका समस्या भएको अवस्थामा गाउँपालीकाले उपचार गर्नेछ । अपांगता रोकथाम गर्न मोबाइल स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने बताउदै गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले अबदेखि गाउँपालीकालाई गर्भवती र सुत्केरीको तथ्यांक संकलन गर्दै सेवा प्रदान गर्न थप सहज हुने बताए ।