विजयपुर । धरान उपमहानगरको १६नं.वडा समितिले वडाका ३२ अशक्त तथा विपन्न घरपरिवारलाई रासन कार्ड वितरण गरेको छ ।
शनिबार वडा कार्यालयमा एक कार्यक्रम गरि दैनिक हातमुख जोड्न समस्या भएका अतिविपन्न घरपरिवारलाई कार्ड वितरण गरेको हो । कार्ड वितरण प्रदेश नं.–१ का सभामुख प्रदिप कुमार भण्डारी र उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले संयुक्त रुपमा गरेका थिए ।
कार्ड पाएका ३२ परिवारलाई माघ–६ गतेदेखि साउन ६ गतेसम्मको लागि बजेट विनियोजन गरेको वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । कार्ड प्राप्त गरेका १ जनालाई १५ किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ किलो नुन दिइनेछ । त्यस्तै २ जनाभन्दा बढि सदस्य भएका परिवारलाई २५ किलो चामल सोहि अनुपातमा अन्य सामाग्री दिइनेछ ।
चालु आर्थिक वर्षका अन्य लक्षित कार्यक्रमअन्र्तगतको २ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । अध्यक्ष गिरीले अन्य लक्षित कार्यक्रमअन्र्तगतको बालबालिका र महिला विकास शिर्षकदेखि बजेट व्यवस्थापन गरिएको बताए । गिरीले भने, ‘लकडाउनका बेला वडावासीका घरमा पुग्दा एकल, अशक्त बद्धाबृद्धहरुलाई हातमुख जोड्न समस्या भएको देख्यौँ, त्यसैले रासन कार्ड दिएको हो ।’
उनले थपे, ‘जुनै राजनीिितक दलले पनि निर्वाचनको बेला हिड्न नसक्नेलाई बोकेर भोट हाल्न लगाउँछौ, अनि गरिखान नसक्नेलाई खान दिनुपर्छ भनेर कार्यक्रम लिएको हो ।’ उनले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताए । साथै आफुपछि आउने जनप्रतिनिधिहरुले पनि यस्ता कार्यक्रम ल्याउनु पर्ने वताए ।
३२ जनाको परिवारलाई धेरै नै समस्या भएकाले पहिलो चरणमा रासन कार्ड दिइएको अध्यक्ष गिरीले बताए । बाँकी परिवारलाई पनि आवश्यक दाता एवं बजेटको व्यवस्था गरेर रासन कार्ड दिने उनले वितरण गर्दै जाने वताए ।